Tuesday, April 21

आजदेखि काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस

नेपालअखबार,काठमाडौं। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू हुनेछ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाडेर मुद्दा लड्न दिने भन्नेबारे सरकारपक्ष र विपक्षी वकिलहरूबीच बहस हुनेछ।

Advertisement

आइतबार लामिछानेको बयान लम्बिएपछि थुनछेक बहस हुन सकेन। त्यसपछि न्यायाधीश अधिकारीले लामिछानेलाई प्रहरीको जिम्मा लगाएको थियो। उनी काठमाडौं प्रहरीको हिरासतमा छ। प्रहरीले नै उनलाई थुनछेक बहसमा अदालत उपस्थित गराउनेछ।

आइतबार थुनछेक बहस नहुने भएपछि रवि लामिछाने र उनका वकिलहरूले प्रतिवादी आफै अदालतमा हाजिर हुन आएकाले परिवारको जिम्मा लगाउन माग गरेका थिए।

न्यायाधीश अधिकारीले थुनछेक नभएका कारण मुद्दा हेर्दाहेर्दैमा परेको र हेर्दाहेर्दैमा परेका मुद्दाका प्रतिवादीलाई परिवारको जिम्मामा छाड्ने नजीर नरहेको बताउँदै लामिछानेलाई प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएका हुन्।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा  सरकारी वकिलको कार्यालय पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। यो मुद्दामा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरिएको छ ।

लामिछाने र उनी र गोर्खा मिडियाका तत्कालीन सञ्चालक जिबी राईको हकमा पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रूपैयाँ संयुक्त बिगो मागदाबी गरिएको छ।

सोही मुद्दामा प्रतिवादी रहेका सुनिता नेवा र कमल लामा धरौटीमा रिहा भइसकेका छन्।