Friday, July 10

मेलम्चीको पानी छाडियो बागमतीमा

नेपालअखबार,काठमाडौँ ।शिवरात्रिको समयमा बागमती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ। पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो।

Advertisement

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले वाग्मतीमा मेलम्चीको पानी प्रतिसेकेण्ड करिब एक हजार लिटर बगाइएको जानकारी दिए।

Advertisement
Advertisement

‘हामीले अरू समयमा पनि छ सय लिटर प्रतिसेकेण्ड खोलामा पानी बगाउने गरेका थियौं। आयोजनाको क्षमता १७ करोड भनिए पनि अहिले हामीले २३ करोड लिटर खानेपानी प्रतिदिन ल्याएका छौं। त्यसमध्ये २० करोड उपभोक्तालाई वितरण गरेर बाँकी तीन करोड नदीमा बगाउँछौं,’ उनले भने, ‘शिवरात्रिमा मात्रै नभएर मेलम्चीले अरू पर्व तथा दैनिक रूपमा वाग्मतीमा पानीको बहाव बढाउन सहयोग गरिरहेको छ।’

Advertisement

उनका अनुसार बिहीबार बिहान ८ बजेसम्म शिवरात्रिका लागि पानी बगाइने छ।

गत वर्षको शिवरात्रिमा एकीकृत वाग्मती सभ्यता विकास समितिअन्तर्गत वाग्मती सुधार आयोजनाले छठपर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा बगाएको थियो।

वाग्मती सुधार आयोजनाका उपआयोजना निर्देशक एवं सूचना अधिकृत उद्धव नेपालले नदीमा पानीको बहाव बढाउन र बर्तालुलाई स्नानका लागि सहज बनाउन मेलम्चीसँग पानी सापटी लिइएको जानकारी दिए। ‘शिवरात्रि, छठजस्ता विषेश दिनमा हामीले ड्यामको पानी वाग्मतीमा छोड्दै आइरहेका थियौं,’ उनले भने, ‘यसपटक शिवरात्रिमा ड्यामको पानी परीक्षण गर्न बाँकी भएकाले आगामी वर्षामा मेलम्ची खानेपानी आयोजनालाई ड्यामको पानी दिने गरी सापटी गरेका हौं।’

धाम ड्याममा वर्षाको समयमा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदको समयमा वाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो। वर्षातको समयमा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेण्ड चार सय प्रतिलिटरका दरले वाग्मतीमा छोड्ने आयोजनाको लक्ष्य छ।

‘मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउनका लागि केही महिना आयोजना बन्द गर्नुपरेको थियो, त्यसबेला धाप ड्यामको पानी ल्याएर काठमाडौंका उपभोक्ताको आवश्यकता पूरा गरेका थियौं,’ लामिछानेले भने, ‘आगामी वर्षामा पनि धाप ड्यामको पानी ल्याएर वितरण गर्नेछौं।’