Monday, July 27

ह्वाइट हाउसमा भएको भनाभन पछि पहिलो पटक ट्रम्प-जेलेन्स्कीबीच एक घन्टा वार्ता

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच लामो कुराकानी भएको छ।

Advertisement

ह्वाइट हाउसमा चर्काचर्कीपछि पहिलो पटक ट्रम्प र जेलेन्स्कीबीच लामो फोनवार्ता भएको हो। बुधबार उनीहरूले करिब एक घन्टा वार्ता गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

Advertisement
Advertisement

राष्ट्रपति ट्रम्पले मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घन्टा टेलिफोन संवाद गरेका थिए। बुधबार जेलेन्स्कीसँगको कुराकानीमा सोही विषयमा कुराकानी भएको बताइएको छ।

Advertisement

यद्यपि कुराकानीको विस्तृत विवरण ह्वाइट हाउसले सार्वजनिक गरिसकेको छैन।

‘धेरैजसो छलफल हिजो पुटिनसँग भएको कुराकानीमा आधारित थियो ताकि उनीहरू दुवैको अनुरोध र आवश्यकतामा एक ठाउँमा ल्याउन सकियोस्। यसमा हामी ठीक बाटोमा छौं,’ ट्रम्पले टेलिफोन वार्ताबारे सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

दुवै राष्ट्रपतिहरूले कुराकानी सकारात्मक र सौहार्दपूर्ण भएको बताएका छन्।

जेलेन्स्कीले टेलिफोन वार्ताअघि पुटिनसँगको कुराकानीबारे ट्रम्पले आफूलाई ब्रिफिङ गर्ने विश्वास व्यक्त गरेका थिए।

‘वार्ता सकारात्मक, धेरै सारभूत र स्पष्ट भयो,’ जेलेन्स्कीले ट्रम्पसँगको कुराकानीपछि भनेका छन्।

फेब्रुअरी २८ मा खनिज सम्झौतामा हस्ताक्षर गर्न ह्वाइट हाउस पुगेका जेलेन्स्की त्यहाँ ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सबीच चर्काचर्की गरेर फर्किएका थिए। त्यतिबेला खनिज सम्झौतामा हस्ताक्षरको कार्यक्रम स्थगित गरी जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरिन निर्देशन दिइएको थियो।

त्यसयता ट्रम्प र जेलेन्स्कीबीच संवाद भएको थिएन। सार्वजनिक कार्यक्रमहरूमार्फत उनीहरूले छिट्टै नै सकारात्मक वार्ता हुने बताउँदै आएका थिए।

ट्रम्प र जेलेन्स्कीको व्यक्तिगत संवाद रोकिए पनि  साउदी अरबमा अमेरिकी अधिकारीहरूले युक्रेनी अधिकारीहरूसँग वार्ता गरेका थिए।

त्यही वार्तामा युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई युक्रेनले स्वीकार गरेको थियो। युक्रेनले स्वीकार गरेपछि ट्रम्पले पुटिनलाई मनाउन मंगलाबार लामो फोनवार्ता गरेका थिए।

२ घन्टा लामो संवादपछि पनि पुटिनले ३० दिनको युद्धविराम गर्न तयार नभएको बरू युक्रेनी उर्जा पूर्वाधारमा आक्रमण रोक्न सकिने जबाफ ट्रम्पलाई दिएका थिए।

पुटिनले ३० दिनसम्म युद्धविराम गरे युक्रेनले हतियार जम्मा गर्ने र थप सहायता जुटाएर पछि युद्धविरामका लागि आफ्ना मागहरू बढाउन सक्ने चुनौती रहेको बताएका थिए।

जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूमा रूसले आक्रमण नगर्ने प्रतिबद्धतालाई पनि सकारात्मक रूपमा लिएको बताएका थिए।

उनले छिट्टै युक्रेनले त्यस्ता पूर्वाधारहरूको विवरण रूसलाई उपलब्ध गराउने बताएका छन्।