Thursday, July 9

अझै दुई दिन वर्षा हुने,अहिले नेपालको मौसममा विभिन्न पानी पार्ने प्रणाली सक्रिय

नेपालअखबार,काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले अझै दुई दिन वर्षाको प्रक्षेपण गरेको छ। अहिले नेपालको मौसममा विभिन्न पानी पार्ने प्रणाली सक्रिय छन्।

Advertisement

पछिल्लो समय बंगालको खाडीबाट उच्च जलवाष्पयुक्त हावा आइरहेको छ। त्यस्तै अरब सागरबाट पनि जलवाष्पयुक्त हावा आइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। त्यसका अतिरिक्त पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु पनि सक्रिय छन्।

Advertisement
Advertisement

त्यसैको प्रभावले ६–७ घन्टादेखि देशका पूर्वी र मध्य भागमा वर्षा भइरहेको छ। विशेषतः कोशी र मधेस प्रदेशमा उल्लेख्य वर्षा भयो। अहिले पनि कोशी, मधेस र लुम्बिनी प्रदेशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Advertisement

पछिल्लो एक घन्टामा दाङको पदमपुर क्षेत्रमा ८.२ मिलिमिटर वर्षा भएको छ। आज देशका अधिकांश भूभागमा वर्षा हुने प्रक्षेपण मौसम विभागले गरेको छ। मौसमविद् गोविन्द झाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने बताए।

यो क्रम बिहीबारसम्म जारी रहने पनि उनले बताए। बुधबार देशका पहाडी भूभागमा मध्यम वर्षा हुनेछ। बिहीबार पनि यही सम्भावना रहेको उनले बताए।

‘लगातार झरी पर्ने त होइन। रोकिँदै पर्ने सम्भावना छ। बिहीबारसम्मै देशका अधिकांश स्थानमा आंशिक बदलीदेखि पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ उनले भने।

मौसमविद् विनोद पोखरेलले पनि आगामी दुई दिनसम्मै वर्षाको सम्भावना देखाएका छन्। विभिन्न मोडलहरूले आगामी दुई दिनसम्म वर्षा हुने देखाएको उनले बताएका छन्।

मनसुन सुरू हुन करिब एक महिना बाँकी रहेको छ। यस वर्षको मनसुन याममा सरदरभन्दा बढी वर्षा हुने र विशेष गरेर सुदूरपश्चिम प्रदेशमा उल्लेख्य वर्षा हुने प्रक्षेपणहरू आइरहेका छन्।

प्रि–मनसुन याममा पनि सरदरभन्दा बढी नै वर्षा भइरहेको छ। फागुन १७ देखि वैशाख २२ सम्मको अवधिमा ११८.६० मिलिमिटर वर्षा भएको छ। यो सरदरको तुलनामा ५१.८ प्रतिशत हो।