Friday, May 1

वर्षाका कारण दाउन्ने सडक अवरुद्ध

नेपालअखबार,नवलपुर । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने विश्वकर्मा मन्दिर क्षेत्र नजिकैको सडक खण्ड आज बिहान अचानक परेको वर्षाका कारण अवरुद्ध भएको छ।

वर्षाले सडक सतह चिप्लो र हिलो बनेपछि बुटवल–नारायणगढ खण्डअन्तर्गत दाउन्ने सडकमा साना तथा ठूला सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

Advertisement

ढकालका अनुसार, “सडक अत्यधिक चिप्लो भएकोले सवारी चलाउन सकिने अवस्था छैन। बस, ट्रक लगायतका सवारीसाधनहरू राजमार्गमै रोकिएका छन्।”

जोखिमपूर्ण अवस्थाका कारण सवारी सञ्चालन पूर्णरूपमा निषेध गरिएको प्रहरीले जनाएको छ। ढकालका अनुसार सडक सामान्य बनाउने प्रयासस्वरूप आवश्यकताअनुसार डोजर प्रयोग गरी बालुवा छर्ने कार्य भइरहेको छ। तर मौसम अनुकूल नभएसम्म सुधार हुन समय लाग्ने देखिएको छ।

प्रहरीका अनुसार सुरक्षाकर्मीहरू घटनास्थलमा खटिइसकेका छन्। मौसम खुल्नेबित्तिकै मर्मत कार्य सुरु गरिने र त्यसपछि सवारी सञ्चालन पुनः सुचारु गरिने जानकारी प्रहरी प्रमुख ढकालले दिएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक खण्ड महत्त्वपूर्ण मानिन्छ। पटक–पटकको वर्षाका कारण यो खण्डमा हुने अवरोधले लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधनहरू प्रभावित हुँदै आएका छन्।