
नेपालअखबार,काठमाडौं । राजावादी नेताहरुले आन्दोलन नछाडेसम्म पीएसओ (अंगरक्षक) नपाउने भएका छन् ।
राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन थालेपछि सरकारले राजावादी नेताहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेको थियो ।
बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था सुशासन समितिको बैठकमा राप्रपा नेता बुद्धिमान तामाङले अंगरक्षक फिर्ता बोलाउनुपर्नाको कारणबारे गृहमन्त्री रमेश लेखकलाई सोधेका थिए । त्यसपछि गृहमन्त्री रमेश लेखकले राजावादीहरुको आन्दोलन रोकिए नेताहरुको अंगरक्षक पुनः खटाइने बताए ।
गृहमन्त्री लेखकले भने, ‘हजुरहरुले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरुलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यी घटनाहरु भएनन् भने सुरक्षा पुनः स्थापित गरिन्छ ।’
गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाउनुपरेको बताए ।
उनले गणतन्त्र, संघीयता र लोकतन्त्रबाट पछि फर्किन नसकिने भन्दै संविधानका आधारभूत व्यवस्था उल्ट्याउने र संविधान नै फाल्ने काममा कोही पनि नलाग्न चेतावनी पनि दिए ।
‘यो गणतन्त्रबाट पछि फर्किने, संघीयता, लोकतन्त्रबाट पछि फर्किने समावेशिताबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजान्छ, यसमा हामी सबै स्पष्ट हुन जरुरी छ,’ मन्त्री लेखकले भने, ‘संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा हामी कोही पनि नलागौँ । सरकारको धारणा यही हो ।’
उनले थपे, ‘गणतन्त्र फाल्न मिल्दैन, हुँदैन, यो संविधान फाल्न मिल्दैन, हुँदैन । त्यसका लागि हुने प्रयत्न निरर्थक छन्, त्यसमा नलागिदिन मेरो सादर अनुरोध छ ।’

