
नेपालअखबार,न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकाले इराकमा रहेको आफ्नो दूतावास खाली गर्ने तयारी गरिरहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको हो । लन्डनस्थित आईसीई एक्सचेञ्जमा बिहीबार बिहानी समयमा बे्रन्ट क्रुडको भाउ २ डलर ९० सेन्टले बढेर प्रतिब्यारेक ६९ डलर ७७ सेन्टमा पुगेको थियो ।
अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा यो ४ दशमलव ३४ प्रतिशत धेरै हो । सोही दिन अमेरिकी बेन्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट पनि ३ डलर १७ सेन्टले बढेर ६८ डलर १५ सेन्टमा उक्लिएको थियो । बिहीबारको कारोबारमा तेलको दुवै बेञ्चमार्कको भाउ बढेर अप्रिलको शुरुआती दिनयताकै उच्च स्तरमा पुगेका थिए ।
पेट्रोल निर्यातकर्ता देशहरूको संगठन (ओपेक)को दोस्रो ठुलो तेल उत्पादक हो इराक । अमेरिकाले इराकमा रहेको दूतावास खाली गर्ने तयारी गरिरहेको अप्रत्याशित खबर आएपछि व्यापारीहरूले धेरै क्रुड फ्यूचर्स किनेका थिए । बजारले यतिबेला यति ठुलो भूराजनीतिक जोखिमको अपेक्षा नगरेको प्राइस फ्यूचर्स ग्रुपमा विश्लेषक रहेको फिल फ्लिनले भने ।
यस अघि इरानी रक्षामन्त्री अजिज नासिरजादेहले परमाणु वार्ता विफल भयो र अमेरिकासँग द्वन्द्व बढ्यो भने इरानले सो क्षेत्रको अमेरिकी सैन्य शिविरमा आक्रमण गर्ने धम्की दिएका थिए । इरानसँग अमेरिकाको तनाव बढ्नु भनेको इरानी तेलको आपूर्ति सीमित हुनु हो ।
ओपेक र समूहबाहिरका प्रमुख तेल उत्पादकहरूले तेलको उत्पादन जुलाईमा दैनिक ४ लाख ११ हजार ब्यारेलले बढाउने योजना बनाएकोले तेलको आपूर्ति भने धेरै प्रभावित हुने छैन ।


