Monday, May 25

बुटवल सब-स्टेसनको आगलागी नियन्त्रणमा आएलगत्तै सुरू भयो विद्युत सेवा

नेपालअखबार, बुटवल।  बुटवलको  सब-स्टेसनमा आगलागीका कारण सुनवलदेखि पश्चिम क्षेत्रमा अवरूद्ध भएको विद्युत रातिदेखि नै सुरू भएको छ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १० योगिकुटीमा रहेको विद्युत सब-स्टेसनमा मंगलबार राति ९ बजेतिर  आगलागी भएको थियो।

Advertisement

आगो तत्काल नियन्त्रणमा आए पनि एउटा ट्रान्सफर्मर जलेर क्षतिग्रस्त भएको कारण नवलपरासीको सुनवलदेखि पश्चिमतर्फको राष्ट्रिय प्रसारण लाइन नै अवरुद्ध भएको थियो।

आगलागीबाट एउटा ट्रान्सफर्मर क्षतिग्रस्त भए पनि तत्काल जनशक्ति परिचालन गरेर अन्य ट्रान्सफर्मरबाट विद्युत प्रवाह सुरू गरिएको नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख शम्भु कुशियत  यादवले जानकारी दिए। आगलागी भएर अवरुद्ध भएको करिब साढे एक घन्टामै विद्युत सेवा सुरू भएको उनले बताए।

नेपाल विद्युत प्राधिकरणको योगिकुटी ग्रिड भनेर चिनिने  सब-स्टेसनमा आगलागी भएपछि राष्ट्रिय प्रसारण लाइन नै अवरुद्ध भएको थियो।

नेपाल विद्युत प्राधिकरण ग्रिड महाशाखा योगिकुटीका ईन्जिनियर सूर्यप्रसाद पाण्डेले आगलागीबाट सब-स्टेसनको ठूलो ट्रान्सफर्मर जलेर क्षति भएको बताए।