Tuesday, July 7

संशोधन अघि संविधान कार्यान्वयनको समीक्षा गर्नुपर्दछ : सिटौला

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन अघि कार्यान्वयनको समीक्षा हुनुपर्ने बताएका छन् ।

Advertisement

पार्टीको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै नेता सिटौलाले कार्यान्वयनको समीक्षा गरेर मात्रै संविधान संशोधन हुनुपर्ने बताए ।

Advertisement
Advertisement

‘संविधान कार्यान्वयनको समीक्षा आवश्यक छ, यो हाम्रो प्रस्ताव नै जाओस् भन्ने मलाई लागेको छ, संविधान कार्यान्वयनको समीक्षाको  विचार पार्टीले गर्नुपर्छ,’ सिटौलाले भने ।

Advertisement

संविधान कार्यान्वयनबाट जनतालाई कति उपलब्धि भयो वा भएन ? भन्ने समीक्षा हुनुपर्ने सिटौलाको भनाइ छ । संविधान कार्यान्वयन हुन नसकेको भए कारण खोजिनु पर्ने उनको तर्क छ ।

राष्ट्रिय सभामा सत्ता पक्षको दुई तिहाइ नरहेको सुनाउँदै सिटौलाले पार्टी बैठकमा भने, ‘सहमतिका अरु पक्षलाई लिएर जान सक्यौं भनेदेखि संविधान संशोधन सहज बन्ला, तर त्यति सजिलो छैन, संविधान संशोधनको प्रस्तावलाई सजिलोसँग पारित हुने मैले देखेको छैन ।’

संविधान निर्माण पछि राज्यका संवैधानिक अंगहरुले गरेका कार्यबाट देशलाई कति लाभ भयो ? त्यसमा समीक्षा आवश्यक रहेको सिटौलाले बताए ।

‘जति लाभ भयो, त्यो जनतालाई हामीले भन्नुपर्छ, यति हामीले काम गरेका छौं, यति गर्न सकिएन, यो कारणले गर्न सकिएन, हामी सुध्रिन्छौं भनेर भन्न सक्नुपर्छ,’ सिटौलाले भने ।