Wednesday, October 29

प्यालेस्टाइनलाई देशको मान्यता दिने फ्रान्सका राष्ट्रपति म्याक्रोंको घोषणा

नेपालअखबार,काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंले प्यालेस्टाइनलाई देशको मान्यता दिने घोषणा गरेका छन्।

Advertisement

राष्ट्रपति म्याक्रोंले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट लेख्दै प्यालेस्टिनलाई आगामी सेप्टेम्बरमा देशको मान्यता दिने घोषणा गरेका हुन्।

Advertisement

उक्त घोषणा संयुक्त राष्ट्रसंघको महासभामा हुने पनि राष्ट्रपति म्याक्रोंले बताएका छन्।

‘मध्यपूर्वमा न्याय र शान्तिका लागि ऐतिहासिक प्रतिबद्धतास्वरूप फ्रान्स प्यालेस्टाइनलाई एक राष्ट्रका रूपमा मान्यता दिनेछ,’ म्याक्रोंले लेखेका छन्।

उनले गजाका नागरिकहरूको जीवन बचाउनु सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन्।

‘ गजामा युद्ध अन्त्य र त्यहाँका नागरिकहरूको जीवन बचाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। शान्ति सम्भव छ।  तत्काल युद्धविराम र सबै बन्धकहरूको रिहाइ तथा गजाका नागरिकहरूलाई पर्याप्त मानवीय सहायताको जरूरी छ,’ म्याक्रोंले भनेका छन्।

प्यालेस्टिनी अधिकारीहरूले म्याक्रोंको निर्णयको स्वागत गरेको।

तर इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने फ्रान्सको सो कदमको आलोचना गरेका छन्।

‘यो आतंकवादलाई पुरस्कृत गरिएको जस्तो भयो,’ नेतन्याहूले भनेका छन्।

म्याक्रोंको उक्त घोषणालाई अमेरिकाले गैरजिम्मेवार भनेको छ।

विदेशमन्त्री मार्को रूबिओले यस्तो घोषणाले हमासको प्रोपोगान्डालाई बढावा दिने र अशान्ति बढाउने बताएका छन्। ‘ यो अक्टोबर ७ मा भएको हमलाका पीडितहरूमाथिको झापड हो। अमेरिका उक्त निर्णयको सख्त निन्दा गर्छ,’ उनले एक्समा लेखेका छन्।

म्याक्रोंले हमासलाई निशस्त्रीकरण गरी गजालाई सुरक्षित बनाएर त्यसको पुनर्निर्माण गर्न जरूरी रहेको पनि बताएका छन्।

म्याक्रोंको घोषणालाई साउदी अरबले ऐतिहासिक घोषणा भनेको छ।

स्पेनले भने म्याक्रोंको उक्त घोषणाको निन्दा गरेको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो स्यान्चेजले नेतान्याहूले जुन कुराको अन्त्य गर्न खोजेका छन् त्यसमा साथ दिनुपर्ने बताएका छन्।

म्याक्रोंले भने सेप्टेम्बरको महासभामा अरू देशहरूले पनि प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने निर्णय गर्ने विश्वास व्यक्त गरेका छन्। ‍

संयुक्त राष्ट्रसंघमा सदस्य रहेका १९३ देशमध्ये १४० भन्दा बढी देशले प्यालेस्टाइनलाई देशको मान्यता दिएका छन्। इसराइलको मुख्य सहयोगी अमेरिका र बेलायल लगायतका देशहरूले भने प्यालेस्टाइनलाई देशको मान्यता दिएका छैनन्।