
नेपालअखबार,काठमाडौँ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । दर्जनौँ ऐनमा संशोधन गर्नेगरी संसदबाट पारित भएको विधेयक राजपत्रमा प्रकाशित भएसँगै लागु समेत भएको छ । त्यसरी संशोधन भएको विधेयकमध्ये एउटा विधेयक हो, ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६’ । उक्त विधेयकको दफा २५ मा संशोधन गर्दै व्यक्तिगत घटना दर्तासम्बन्धी प्रमाणपत्र एकपटकका लागि सच्याउन सक्ने व्यवस्था गरेको छ ।
उक्त दफाको संशोधित उपदफा १ मा भनिएको छ, ‘कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनु परेमा सम्बन्धित व्यक्तिले एक पटक स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ ।’
के के विवरण सच्याउन सकिन्छ ?
संशोधित दफाको सच्याउन सक्ने विवरणमा ‘व्यक्तिगत घटना दर्ता’ भनेर उल्लेख गरिएको छ । यस अन्तर्गत विभिन्न जन्म, मृत्यु, विवाह, बसाइसराइ, सम्बन्धविच्छेद गरी पाँचवटा विषय उल्लेख हुने उक्त ऐनमा उल्लेख गरिएको छ ।
अर्थात्, उक्त संशोधित व्यवस्थापछि जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, बसाइसराइ दर्ता र सम्बन्धबिच्छेद दर्ता गरी पाँच प्रकारका दर्ता प्रमाणपत्रमा उल्लेखित विवरण सच्याउन सक्ने व्यवस्था गरिएको छ ।
यसअघि यो ऐनले २०७६ सालपछि जन्मेको बच्चाको मात्रै विवरण सच्याउन सक्ने व्यवस्था गरेको थियो । अहिले सबै प्रकारका प्रमाणपत्र र विवरण सच्याउन सक्ने व्यवस्था गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक शिवराज सेडाइँ बताउँछन् ।

यो व्यवस्थाले नागरिकता प्रमाणपत्र वा अन्य शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेखित विवरण सच्याउने बाटो भने खुला गर्दैन । नागरिकता सच्याउनको लागि नागरिकता ऐन तथा अन्य शैक्षिक विवरण सच्याउन सोही अनुसारको ऐन नियमावली आकर्षित हुने सेडाइँ बताउँछन् ।
यसअघि यस्तो सच्याउनुपर्ने व्यवहारिक आवश्यकता देखिए पनि ऐनमा व्यवस्था नहुँदा स्थानीय पञ्जीकाधिकारीलाई अप्ठ्यारो पर्दै आएको र यसले गर्दा लाखौं नागरिकलाई अप्ठ्यारो भएकोले यसलाई सच्याउन ऐन संशोधन गरिएको उनको भनाइ छ ।

