Saturday, May 2

महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष अलथानीबीच कतारमा भेटवार्ता

नेपालअखबार,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बर अध्यक्ष शेख खालिफा बिन जासिम बिन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपाल र कतारबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । त्यस अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमति भएको महासंघ अध्यक्ष ढकालले जानकारी दिए ।

Advertisement

उनले नेपाल–कतार जेबीसी दुवै देशबीच व्यापार तथा लगानी प्रवर्द्धनको महत्त्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सदस्य सूचीलाई शीघ्र अन्तिम रूप दिनुपर्नेमा जोड दिए ।

नेपाल–कतार जेबीसी स्थापनामा कतारको सहयोगको प्रशंसा गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त अवसर रहेकाले कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।

‘नेपालमा धेरै क्षेत्रमा लगानीको अवसर छ, म कतारी लगानीकर्तालाई जलविद्युत्, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक तथा कृषि–आधारित उद्योगमा लगानीका लागि आग्रह गर्दछु,’ उनले भने ।

महासंघले अघि बढाइरहेको डिजिटल रूपान्तरणमा जोड दिँदै यस क्षेत्रमा कतार चेम्बरसँगको सहकार्य महत्त्वपूर्ण हुने ढकालले उल्लेख गरे । उनले एआई–आधारित व्यावसायिक सुविधा उपकरण, ब्लकचेन–आधारित व्यापार कागजीकरण प्रणाली तथा व्यवसाय मिलान र लगानी प्रवर्द्धनका लागि डिजिटल प्ल्याटफर्महरूमा ज्ञान आदानप्रदान गर्ने प्रस्ताव गरे ।

‘उन्नत डिजिटल प्रविधि अपनाउने कतारको अनुभवबाट पाएको तपाईंहरूको समर्थनले महासंघलाई आधुनिक, प्रविधिमैत्री संस्था बनाउन अमूल्य सहयोग पुर्‍याउने छ,’ उनले भने ।

भेटका अवसरमा कतार चेम्बर अध्यक्ष अल थानीले नेपाल–कतार जेबीसी संयन्त्रलाई अन्तिम रूप दिई थप प्रभावकारी बनाइने बताए ।

यस्तै उनले नेपालसँग आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढ गर्न आफ्नातर्फबाट पहल गर्ने र यस प्रकार भेटघाट तथा छलफललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

यसैबीच महासंघ अध्यक्ष ढकालले कतार चेम्बर र कतारी व्यावसायिक समुदायलाई सन् २०२६ फेब्रुअरीमा काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलनमा सहभागी हुन पनि आमन्त्रण गरेका छन् ।

दुई देशबीचको आर्थिक सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यले सम्मेलनमा विशेष ‘कतार केन्द्रित लगानी सत्र’ आयोजना गर्ने तयारी भएको उनले जानकारी दिए ।

‘लगानी, नवप्रवर्तन र सहकार्य मार्फत नेपाल कतार साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन सकिन्छ, नेपाली उत्पादन चिया, कफी, अलैँची, जडीबुटी तथा प्रशोधित खाद्यवस्तु जस्ता नेपाली कृषि उत्पादनलाई कतारको बजारमा पहुँच बढाउन ठूलो सम्भावना छ,’ उनले भने ।

अध्यक्ष ढकालले यी उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न प्रमाणीकरण, मानकीकरण तथा संयुक्त ब्रान्डिङ पहलमा सहकार्य गर्न प्रस्ताव गरे । भेटका अवसरमा चेम्बर अध्यक्ष थानीसहित कतार चेम्बरका उच्च पदाधिकारी, व्यापारीहरू सहभागी थिए।