
नेपालअखबार,काठमाडौं । जेनजी आन्दोलन उग्र बनेपछि पोखरामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अर्को आदेश जारी नभएसम्म आज दिउँसो २ बजेबाट कर्फ्यु जारी गरेका हुन्।
‘पोखरा महानगरपालिकामा हुनसक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८२/०५/२३ गते दिनको २:०० बजे देखि अर्को आदेश नभएसम्मको लागि पोखरा महानगरपालिकाको तपसिल बमोजिमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ,’ जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम नगर्न आदेश गरिएको छ। पोखराको शहिदचोक पूर्वतर्फ वाई चोक, उत्तर-पूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्रबैंक चोक रहेको प्रशासनले जनाएको छ।


