
नेपालअखबार,काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जेनजी पुस्ताको आन्दोलनमा शहादत प्राप्त गरेका सम्पूर्ण युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा शान्ति, धैर्य र सहमतिबाट मात्र निकास सम्भव हुने बताएका छन् ।
खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनप्रति संवेदना व्यक्त गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्र र निःशुल्क उपचार गर्न राज्यलाई जोडदार माग गरेका छन् ।
उनले विगत दुई दिनमा देखिएको आश्चर्यजनक विध्वंसक आगजनी, तोडफोड, लुटपाट र सर्वनाशका घटनाबाट मुलुक अहिले शान्तितर्फ फर्किरहेको उल्लेख गरेका छन् ।
उनका अनुसार जेनजी पुस्ताको आन्दोलनको समेत समयमा समीक्षा हुनेछ भने त्यसको आडमा देशी–विदेशी शक्तिले गरिएका आततायी अपराधहरूको पनि मूल्याङ्कन हुने स्पष्ट पारेका छन् ।
तर, तत्कालिक अवस्थामा शान्ति कायम गरेर मुलुकलाई पुनर्स्थापना र अग्रगतितर्फ लैजानै मुख्य कार्यभार रहेको उनको भनाइ छ ।खनालले विज्ञप्तिमा सबैलाई शान्त, संयमित र धैर्यवान् बन्न आग्रह गर्दै बलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
साथै मुलुकलाई नयाँ निकासतर्फ अघि बढाउन सर्वदलीय र सर्वपक्षीय प्रयास जरुरी रहेको उल्लेख गर्दै भेटघाट, वार्ता र सहमतिबाट संविधानलाई आधार बनाएर साझा नीति तथा कार्यक्रम निर्धारण गर्नुपर्ने धारणा राखेका छन् ।
“त्यही सहमतिको आधारमा सर्वदलीय र सर्वपक्षीय सरकार गठन गरी देश, जनता र राष्ट्रलाई पुनर्गठन, पुनर्स्थापना र रूपान्तरण गर्दै समृद्धि र समाजवादको दिशामा अघि बढाऔँ,” विज्ञप्तिमा भनिएको छ ।


