Sunday, August 2

कैदीबन्दीहरूलाई कारागार फर्कन र हतियार फिर्ता गर्न आयोगको अपिल

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले हालै भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीहरूलाई तत्काल सम्बन्धित कारागारमा फर्कन आग्रह गरेको छ। आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै कारागारबाट भागेका कैदीबन्दीहरूका कारण समाजमा त्रास र असुरक्षा बढेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको हो।

Advertisement

आयोगका अनुसार, भागेका कैदीबन्दीहरूले अपराध पीडितको हकमाथि असर पारेको र विशेषगरी महिला, बालबालिका तथा अपराध पीडित परिवारमा मनोवैज्ञानिक त्रास सिर्जना भएको पाइएको छ। विज्ञप्तिमा सुरक्षा निकायलाई कैदीबन्दीहरूको खोजी कार्यलाई तीव्रता दिन र उनीहरूलाई पनि कानुनी शासनको सम्मान गर्न आह्वान गरिएको छ।

Advertisement
Advertisement

यसैगरी, आयोगले आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका नेपाल प्रहरीका हतियार र पोशाक फिर्ता गर्नसमेत आग्रह गरेको छ। यी हतियारको दुरुपयोग भएर हिंसात्मक गतिविधि हुन सक्ने भन्दै आयोगले यसलाई गैरकानुनी कार्यको रूपमा व्याख्या गरेको छ।

Advertisement

आयोगले आम नागरिकलाई पनि सहयोगका लागि अपिल गर्दै भनेको छ, ‘आफ्नो टोल-छिमेकमा भागेका कैदीबन्दी वा बालसुधारगृहबाट भागेका व्यक्तिहरू देखिएमा तत्काल नजिकको प्रहरीलाई खबर गर्नुहोस्। यस्तै, नियन्त्रणमा रहेका हतियार वा पोशाकको दुरुपयोग भएको जानकारी भएमा पनि सम्बन्धित निकायमा खबर गरिदिनुहोस्।’

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिले समाजमा शान्ति, सुरक्षा र कानुनी शासन कायम गर्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिएको छ।

546820964_4332544983641031_3759290349368884727_n