
नेपालअखबार, काठमाडौं। सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने भएको छ ।
जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरुको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय भएको सरकारका गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए ।
उनले सञ्चारकर्मीहरूसँग भने, ‘ जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय भउको छ। तर, ठाउँ अहिले यकिन भइसकेको छैन। ‘
हालसम्म जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।
आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको सरकारको तथ्याङ्कमा उल्लेख छ।
उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरुको मृत्यु भएको छ ।
मृतक सबैको सनाखत हुन सकेको छैन । जलेका ठाउँहरु सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ । आज बिहान मात्रै चाबहिल चुच्चेपाटीको भाटभटेनीमा ६ जनाको शव भेटिएको छ ।

