Saturday, January 10

कांग्रेस नेता शशांकले भने ८० वर्ष पुरानो कोइराला निवास जल्यो ?

नेपालअखबार,काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् ।

Advertisement

उनले वास्तविक जेनजी को हो ? भनेर ठम्याउनुपर्ने वेला भएको उनको भनाइ छ । उनले जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताए । उनले आफूले कहिल्लै भ्रष्टाचार नगरेको र मन्त्री समेत नभएको भएपनि घर जलाइएकोमा आपत्ति जनाए ।

उनले भने, ‘म त अचम्ममा परेँ । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपाट भयो । मान्छेहरू मरे । भनिन्छ एक्सपर्टले गोली हानेको छ । टाउको र छातीमा नै गोली हानेको छ । जुन पुलिसले गर्नै सक्दैन । घुसपैठहरू आन्दोलनमा घुसेका छन् । सबैभन्दा पहिले त हामीले यो जेनजी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनुपर्‍यो । उनीहरुले तीन वटा कुराहरू उठाए । सुशासन, भ्रष्टाचार र  सामाजिक सञ्जालको कुरा मात्रै थियो । तर पछि उनीहरुले त हरेक ठाउँमा आगो लगाए । मेरो घर पनि जल्यो । मैले के गल्ती गरेको थिए ? थाहा छैन ।  चार चोटि जिते मन्त्री पनि भएको छैन । न त भ्रष्टाचार नै गरेको छ । मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो । ८० वर्ष पुरानो कोइराला निवास जल्यो । किन जल्यो ? यो प्रश्नको उत्तर म दिन सक्दिनँ ।’

उनले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।