Wednesday, May 13

गाजामा इजरायली आक्रमण : एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु

नेपालअखबार,गाजा । गाजा सहरको साबरा क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु भएको छ। इजरायलले गाजा पट्टीमा आफ्नो आक्रमणलाई तीव्र पारेको छ।

आइतबार बिहानै इजरायली युद्धक विमानहरूले साबरा क्षेत्रमा घरहरूको समूहमा बमबारी गरेको थियो। गत अगस्टको अन्त्यमा इजरायली ट्याङ्कहरूले यस क्षेत्रलाई ध्वस्त पार्ने र कब्जा गर्ने योजनाका साथ अघि बढ्न थालेका थिए।

Advertisement

आक्रमणपछि कम्तीमा १७ जनाको उद्धार गरिएको छ भने अन्य ५० जनासम्म भग्नावशेषमुनि फसेको हुनसक्ने अनुमान गरिएको छ। मानिसहरू र आपत्कालीन उद्धारकर्ताहरूले आफ्नो हातले भग्नावशेष हटाएर उद्धार कार्य जारी राखेका छन्।

प्यालेस्टिनी परिवारले भग्नावशेषमा फसेका अन्य सदस्यहरूलाई बाहिर निकाल्न मद्दतका लागि तत्काल अपिल गरेका छन्। परिवारका सदस्यहरूले भग्नावशेषबाट अझै पनि आवाजहरू सुनिरहेको बताएका छन्।

एक परिवारका सदस्यले भने, ‘म सम्पूर्ण विश्वलाई अपील गर्दछु: कृपया हामीलाई सहयोग गर्नुहोस्। हाम्रा आफन्तहरू जिउँदै पुरिएका छन्। हामी भग्नावशेषमुनिबाट उनीहरूको चिच्याहट सुनिरहेका छौं, तर हामी उनीहरूसम्म पुग्न सकिरहेका छैनौँ।’

उनले उद्धारकर्मीहरूले काम गरिरहेको बेला इजरायली ड्रोनहरूले गोली चलाएको पनि बताए। ‘हामीले जतिबेला उनीहरूसम्म पुग्ने प्रयास गर्छौं, इजरायली ड्रोनहरूले हामीमाथि गोली चलाउँछन्। पाँच जना मानिसले प्रयास गर्दा चार जना मारिन्छन् र एक जना मात्र बाँच्छन्,’ उनले थपे।

अनलाइनमा प्रसारित फुटेजमा घाइतेहरूलाई एउटा सानो गाडीमा राखेर लगिरहेको देखाइएको छ। भिडियोमा एक आमा रुँदै इजरायली आक्रमणमा आफ्ना ‘सबै बच्चाहरू’ गुमाएको बताइरहेकी छन्।