Sunday, August 23

संकट समाधानका लागि संसद् पुनःस्थापनाबाट नयाँ मार्ग खोजौँ : नैनसिंह महर

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले मुलुकको वर्तमान संकट समाधानका लागि राष्ट्रिय संवाद अपरिहार्य रहेको बताएका छन् । अन्योलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न कि त निर्वाचनको माध्यमबाट नयाँ जनमत लिनुपर्ने कि त संसद् पुनःस्थापना गरेर संविधानलाई सही मार्गमा ल्याउन सकिने विकल्प उनले अघि सारेका हुन् ।

Advertisement

आज स्कुल अफ डेमोक्रेसीले राजधानीमा आयोजना गरेको ‘वर्तमान संकट र समाधान’ विषयक विमर्श कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेता महरले यस्तो धारणा राखेका हुन् ।

Advertisement
Advertisement

महरले भने, ‘आजको प्रमुख विषय भनेकै अन्यौलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न निर्वाचनका माध्यमले नयाँ जनमत लिने वा संसद पुनःस्थापना गर्ने विषयको राष्ट्रिय संवाद मार्फत निर्क्यौल गर्दै संविधानलाई लिकमा ल्याउनु हो ।’

Advertisement

उनले देशमा व्याप्त राजनीतिक अस्थिरता, आर्थिक मन्दी र संस्थागत भ्रष्टाचारले नागरिकमा गहिरो निराशा छाएको उल्लेख गरे । ‘एकातिर लाखौं युवा रोजगारीका लागि विदेशिन बाध्य छन्, अर्कोतिर महँगी र आर्थिक संकटले आम नागरिकको जीवनयापन कष्टकर बनेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र कमजोर हुँदा र आन्तरिक कलहमा फस्दा जनतामा व्यवस्थाप्रति नै वितृष्णा जाग्नु स्वाभाविक हो ।’

महरले हालै देखिएको युवा आक्रोश र सडक प्रदर्शनहरूले पनि राजनीतिक नेतृत्वलाई गम्भीर हुन सचेत गराएको बताए ।

जनतामा गुमेको आत्मविश्वास जगाउन र राष्ट्र पुनर्निर्माणको अभियान थाल्न जनजी युवा पुस्ताले खोजेको सुशासन स्थापनाका लागि भ्रष्टाचार विरुद्धको अभियान थाल्नुपर्नेमा नेता महरले जोड दिए । उनले भ्रष्टाचारलाई देशको सबैभन्दा ठुलो शत्रुको संज्ञा दिँदै यसलाई जरैदेखि उखेल्न नसकेसम्म राष्ट्र निर्माणको कुरा निरर्थक हुने बताए ।

महरले ठुला २०१७ सालदेखि आजसम्म सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिनक लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति बनाउनु पर्ने प्रस्ताव समेत राखे । उनले ठुला काण्डहरूमा समेत राजनीतिक संरक्षण हुने गरेका कारण आमजनताको राज्य संयन्त्रमाथिको विश्वास गुम्दै गएको यथार्थलाई स्वीकार गर्दै वर्तमान सरकार परवाह तरिकाले अगाडि बढेको खण्डमा भने जनताले अस्वीकार गर्ने चेतावनी दिए ।

लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ राजनीतिक दलहरू नै भएकाले राष्ट्रपतिले अन्तरिम सरकार प्रमुखसहित सबै राजनीतिक दलहरूलाई समावेश गरेर राष्ट्रिय संवादको आयोजना गर्नुपर्ने महरको सुझाव छ ।

उनले फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण निर्माण गर्न पनि आग्रह गरे । नेता महरले आफू सदैव जनताले खोजेको परिवर्तनको पक्षमा रहेको कुरामा जोड दिए ।