नेपाल अखबार, संखुवासभा। संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा पहिरोमा परेर ११ जना बेपत्ता भएका छन्।
सिलिचोङ १ सिसुवाखोलामा गए राति पहिरोले आठ घर बगाउँदा ११ जना बेपत्ता भएका संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए।
‘रातिको घटना हो, हामीलाई आइतबार बिहान ६ बजे खबर अयो,’ डिएसपी मल्लले भने, ‘अहिले घटनास्थल तर्फ प्रहरी टोली जाँदै छ।’
राति सुतिरहेको बेला आएको पहिरोले घर बगाउँदा स्थानीय जुद्धबहादुर माने र उनकी आमा, सन्दीप कुलुङ र उनका बुवा-आमा, जुद्धबहादुर गैरी, राममान कुलुङ र उनकी आमासहित ६ घरका ११ जना बेपत्ता भएका मल्लले जानकारी दिए। बाँकी दुइ घरका मानिस भने भागेर जागिएका छन्।
घटनास्थलमा अझै प्रहरी पुगेको छैन। ‘घटनास्थलमा प्रहरी टोली पुग्न नसकेकाले विस्तृत विवरण आउन बाँकी छ,’ डिएसपी मल्लले भने, ‘अहिले पनि भारी बर्षा भइरहेकाले उद्धारमा कठिनाई भएको छ।’
मल्लका अनुसार नजिकै रहेको प्रहरी चौकी सिसुवाबाट घटनास्थल पुग्न साढे ३ घण्टा पैदल हिँड्नुपर्छ। गाडी चल्ने बाटो छैन।
प्रहरी चौकी टांकुबाट सई र सिसुवाबाट असईको नेतृत्वमा ११ जनाको प्रहरी टोली घटनास्थल तर्फ प्रस्थान गरेको छ।
सदरमुकामबाट नेपाली सेना र सशस्त्र प्रहरीको अर्को टोली पनि घटनास्थल जानको लागि तयारी अवस्थामा रहेको डिएसपी मल्लले जानकारी दिए। पानी पर्न केही कम हुँनासाथ सदरमुकामबाट पनि सुरक्षकर्मी उद्धारको लागि जाने बताए ।

