
नेपालअखबार,नयाँ दिल्ली । राजस्थानको जैसलमेरबाट जोधपुर आउँदै गरेको एसी बसमा अचानक आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ । बसबाट १९ जनाको शव निकालिएको दुर्घटनापछि मुख्यमन्त्री भजनलाल शर्मासँगै घटनास्थल पुगेका विधायक प्रताप पुरीले सञ्चारमाध्यमलाई बताए । जोधपुर रिफर गरिएको एक घाइतेको पनि मृत्यु भएको खबर आएको छ ।
‘राजस्थानको जैसलमेरमा भएको दुर्घटनामा भएको जनहानीबाट म दुखी छु । यस कठिन समयमा मेरो समवेदना प्रभावित व्यक्तिहरू र उनीहरूका परिवारसँग छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा लेखेका छन् ।
उनले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख भारु र घाइतेहरूलाई ५० हजार भारु क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् ।
मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर जाँदै गरेको निजी एसी बसमा अचानक आगलागी हुँदा धेरै यात्रु गम्भीर रूपमा जलेका छन् । प्राथमिक उपचारपछि सबैलाई जैसलमेरबाट जोधपुर रिफर गरिएको थियो । यस दुर्घटनामा बस पूर्ण रूपमा जलेर खरानी भएको थियो ।


