Wednesday, August 19

भारतले अबदेखि रूसबाट तेल नकिन्ने ट्रम्पको दाबी

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने दाबी गरेका छन्।

Advertisement

बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल नकिन्ने आश्वासन दिएको बताएका हुन्।

Advertisement
Advertisement

‘अबदेखि भारतले रूसबाट तेल किन्दैन। मेरा साथी मोदीले रूसी तेल अब भारतले किन्दैन भन्ने कुराको सुनिश्चितता मसँगको कुराकानीमा गर्नुभएको छ,’ ट्रम्पले पत्रकारहरूसँग भने।

Advertisement

उनले लामो समयदेखि भारतको सत्तामा रहेका मोदीको तारिफ गर्दै उनलाई महान् व्यक्ति समेत भने।

यसरी नै चीनलाई पनि रूसबाट तेल नकिन्नका लागि मनाउन सकिने ट्रम्पले बताएका छन्।

रूसबाट तेल किनेकै कारण ट्रम्पले भारतलाई २५ प्रतिशत भन्सार लगाएका छन्। तेल किनिरहे भन्सार बढाएर ५० प्रतिशत पुर्‍याउने धम्की ट्रम्पले यसअघि नै दिएका थिए

अमेरिकाले भन्सार बढाएपछि भारतले चीनसँग सम्बन्ध सुधारको नीति अबलम्बन गरेको छ।

गत भदौमा चीनमा भएको सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को क्षेत्रीय सम्मेलन क्रममा मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सकारात्मक छलफल भएको थियो।

भेटमा दुवैले चीन र भारत मित्र बनेर एक अर्काको सफलता सुनिश्चित गर्न सकिने धारणा राखेका थिए।

चीन र भारत सम्बन्ध सुधारको बाटोमा अघि बढेपछि झस्किएका ट्रम्प चिनियाँ राष्ट्रपति सीसँग पनि चाँडै भेट्ने प्रयत्न गरिरहेका छन्।

भारतसँग चीन पनि रूसी तेलको मुख्य खरिदकर्ता हो। चीन, भारत लगायतका देशहरूले रूसबाट तेल किनेर उसलाई युक्रेनविरूद्धको लडाइँमा सहयोग गरिरहेको ट्रम्पले आरोप लगाउँदै आएका छन्।

चिनियाँ राष्ट्रपति सी र ट्रम्पबीच दक्षिण कोरियामा अक्टोबरको अन्त्यमा भेटवार्ता हुने तय छ।

सो भेटअघि चीनले दुर्लभ खनिज पदार्थको निर्यातमा कडाइ गरेपछि अमेरिकाले चीनमाथि भन्सार दर एक सय प्रतिशत बिन्दुले बढाउने घोषणा गरिसकेको छ।

योसँगै चीनबाट अमेरिका आयात हुने सामानमा अब १३० प्रतिशत भन्सार लाग्ने भएको छ। ट्रम्पले बढाइएको भन्सार नोभेम्बर १ देखि लागू हुने बताएका छन्।