
नेपालअखबार,पोखरा । जेनजी आन्दोलनमा भागेका ८१ कैदीबन्दीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । आन्दोलनका क्रममा कारागारमा भएको तोडफोड र आगजनीका बेला ७ सय ७३ जना कैदीबन्दी (सबै) भागेका थिए ।
उनीहरूलाई असोज २० गते भित्रमा स्वतःस्फूर्त फर्किन जिल्ला प्रशासनले म्याद दिएको थियो । प्रशासनको अपिलको बाबजुद कैदीबन्दी तथा थुनुवाहरु स्वतःस्फूर्त कारागार नफर्किएपछि कास्की प्रहरीले पक्राउ गरेर कारागारमा बुझाउन थालेको हो ।
प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका १६ जना, लागू औषध मुद्दाका १६ जना, चोरी मुद्दाका २५ जना, कर्तव्य ज्यान मुद्दाका ८ जना, ज्यान मार्ने उद्योग मुद्दाका ९ जना, अभद्र व्यवहार मुद्दाका ४ जना, सवारी अङ्गभङ्ग मुद्दाका १ जना, कुटपिटबाट अङ्गभङ्ग मुद्दाका– १ जना र मानव बेचबिखन मुद्दाका १ जनालाई पक्राउ गरेर कारागारमा बुझाएको हो ।
कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार बाँकीको पनि खोजी भइरहेको छ । अझै साढे २ सय जना कैदीबन्दी फरार छन् । तीमध्ये १३ जना विदेशी छन् ।

