Wednesday, July 15

मेलिसा आँधीका कारण हाइटीमा २५ जनाको मृत्यु, क्यूबा र जमैकामा ठूलो क्षति

नेपालअखबार,काठमाडौं । शक्तिशाली आँधी ‘मेलिसा’ले क्यारेबियनका विभिन्न देशमा भीषण क्षति पुर्‍याएको छ।

Advertisement

मंगलबार जमैकामा इतिहासकै सबैभन्दा शक्तिशाली आँधीका रूपमा प्रवेश गरेको मेलिसाले हालसम्म हाइतीमा कम्तीमा २५ जनाको ज्यान लिएको छ भने क्यूबा र बहामासमा हजारौँ मानिस विस्थापित भएका छन्।

Advertisement
Advertisement

मंगलबार जमैकामा २९८ किलोमिटर प्रतिघन्टाको गतिका साथ आएको मेलिसा श्रेणी-५ को आँधी थियो। यसले देशका विभिन्न क्षेत्रमा ठूलो विनाश गर्दै लाखौँ मानिसलाई प्रभावित बनाएको छ।

Advertisement

राजधानी किङ्स्टनमा क्षति तुलनात्मक रूपमा कम भए पनि करिब ७७ प्रतिशत क्षेत्र बिजुलीविहीन बनेको अधिकारीहरूले जनाएका छन्। स्थानीय अधिकारीका अनुसार कृषि केन्द्र सेंट एलिजाबेथ क्षेत्रमा बाढीले चार जनाको मृत्यु भएको छ।

जमैकाका प्रधानमन्त्री एन्ड्र्यु होलनेसले क्षतिग्रस्त अस्पताल र बस्तीहरू अवलोकन गर्दै सरकारका राहत केन्द्रहरू खुला राखिने बताएका छन्। सरकारी तथ्याङ्कअनुसार २५ हजारभन्दा बढी मानिस आपतकालीन शिविरमा आश्रय लिएका छन्।

क्यूबामा मेलिसा बुधबार बिहान करिब १९३ किलोमिटर प्रतिघण्टाको गतिका साथ प्रवेश गरेको थियो। दक्षिणपूर्वी सान्तियागो प्रान्तमा आँधीका कारण २ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। क्यूबाली अधिकारीहरूले ७ लाखभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्। यद्यपि, कुनै मानवीय क्षति नभएको क्यूबाका राष्ट्रपति मिगुएल डियाज–कानेलले जानकारी दिएका छन्

हाइटीमा भने आँधी प्रत्यक्ष प्रवेश नगरे पनि लगातार वर्षाका कारण बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ।

राजधानी पोर्ट–ओ–प्रिन्सबाट ६४ किलोमिटर पश्चिम रहेको पेटिट–गोभे क्षेत्रमा  कम्तीमा २५ जनाको मृत्यु र १२ जना हराइरहेका छन्। एक हजारभन्दा बढी घर डुबानमा परेका छन् र १२ हजारभन्दा बढी मानिसलाई आपतकालीन शिविरमा सारिएको छ।

हाइटीमा पहिले नै आपराधिक समूहको हिंसा र विस्थापनका कारण १३ लाखभन्दा बढी नागरिक संकटमा परेका थिए। स्थानीय बासिन्दाहरूका अनुसार बाढीले अस्थायी शिविरहरूमा रहेका मानिसहरूको अवस्था झन् कठिन बनाएको छ।

अमेरिकी मौसमविदहरूले मेलिसालाई क्यारेबियनमा अहिलेसम्म रेकर्ड भएको तेस्रो सबैभन्दा शक्तिशाली र सबैभन्दा ढिलो गतिमा चल्ने आँधी बताएको छन्। यसको ढिलाइका कारण विनाश झन् व्यापक भएको बताइएको छ।

मेलिसाको प्रभावका कारण बहामासमा १,५०० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ। त्यहाँका अधिकारीहरूले अझै पनि जोखिम कायमै रहेको जनाएका छन्।

जलवायु विज्ञहरूका अनुसार समुद्रको सतहमा बढ्दो तापक्रमले पछिल्ला वर्षहरूमा आँधीबेहरीहरू थप शक्तिशाली बन्न थालेका छन्।

क्यारेबियनका नेताहरूले प्रदूषण गर्ने धनी मुलुकहरूलाई जलवायु परिवर्तनका कारण हुने क्षतिपूर्तिका लागि ‘लस एन्ड ड्यामेज’ कोषमा योगदान बढाउन आह्वान गरेका छन्।