Saturday, July 4

बंगलादेशमा पूर्वप्रधानमन्त्री खालिदा जियाले ३ ठाउँबाट चुनाव लड्ने

नेपालअखबार, काठमाडौ‌ । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् ।

Advertisement

८० वर्षीया खालिदा जियाले  चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ।

Advertisement
Advertisement

उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको छ। तर हाल उनको स्वास्थ्य निकै कमजोर रहेको बताइन्छ ।

Advertisement

सन् २०२४ को अगस्टमा भएको जनविद्रोहबाट सत्ताच्युत भएकी उनी लामो समयदेखिकी प्रमुख प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वमा वर्षौँ जेल सजाय भोगेकी थिइन् ।

तीन पटक बङ्गलादेश सरकारको नेतृत्व गरेकी जियालाई हसिनाको सरकारले सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल चलान गरेको थियो । हसिनालाई सत्ताबाट हटाइएको केही समयपछि नै उनी गत वर्ष रिहा भएकी थिइन् ।

हसिनाको र्‍यालीमा सन् २००४ मा भएको ग्रिनेड आक्रमणको आरोपमा हसिनाका छोरा तारिक रहमान (तारिक जिया) लाई उनको अनुपस्थितिमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

५९ वर्षीय तारिक रहमान (तारिक जिया) सन् २००८ देखि बेलायतमा बस्दै आएका छन्। हसिनाको पतनपछि रहमानलाई उनीविरुद्धको गम्भीर आरोपबाट मुक्त गरिएको छ।

दशकौँदेखि बङ्गलादेशको राजनीति जिया र हसिनाबीचको कटु प्रतिद्वन्द्विताले परिभाषित गर्दै आएको छ, जसलाई ’ब्याटल अफ द बेगम्स’ भनिन्छ ।

सन् १९७५ मा हसिनाका पिता, स्वतन्त्रता नेता शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको ‘कू’ मा भएको हत्यापछि यो प्रतिद्वन्द्विता देखिन थालेको हो।

मुजिबुर रहमानको हत्याको तीन महिनापछि जियाका श्रीमान् तत्कालीन उपसेना प्रमुख जियाउर रहमानले सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । उनी सन् १९७७ मा राष्ट्रपति बनेका थिए। उनलाई पनि सन् १९८१ मा हत्या गरिएको थियो ।

त्यसबेला दुई सन्तानकी आमा रहेकी ३५ वर्षीया जियाले बीएनपीको नेतृत्व विरासतमा पाएकी थिइन् ।

सुरुमा सिकारु राजनीतिक नेताका रूपमा नेतृत्वमा आएकी जिया पछि हसिनाको एक शक्तिशाली प्रतिद्वन्द्वी साबित बनेकी थिइन् । उनले सैनिक तानाशाह हुसेन मुहम्मद इर्सादको बिरूद्ध आन्दोलनको नेतृत्व गर्दै सन् १९९० मा हसिनासँग मिलेर इर्सादलाई अपदस्थ गरेकी थिइन् ।

त्यसपछि, अर्को डेढ दशकसम्म दुई महिलाहरू पालैपालो सत्तामा रहेका थिए।