Sunday, April 19

सर्पको डसाइबाट महिलाको मृत्यु

नेपालअखबार,झापा । सर्पको डसाइबाट झापाको गौरादहमा महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेकी छन्।

घरभित्र खाद्य भण्डारमा समान निकाल्ने क्रममा गएराति ८:३० बजे आसपासमा उनलाई गोमन सर्पले दाँया खुट्टामा डसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यसपछि उनलाई उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११:४५ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।

Advertisement

गर्मीसँगै वर्षात्का समयमा सर्प डसाइको प्रकोप हुने गरेको भए पनि हिउँदका समयमा सर्प डसाइको घटना हुँदै आएको केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले बताए। केन्द्रमा चालु आर्थिक वर्षको चार महिनामा ३७० जनाले उपचार सेवा पाएको उनको भनाइ छ।