Friday, February 20

तेलको खपत अहिले नै नघट्ने, २०५० सम्म बढ्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको प्रक्षेपण

नेपालअखबार,काठमाडौं ।  विश्वले आफ्नो मार्ग परिवर्तन नगरे आगामी २५ वर्षसम्म तेल र ग्यासको खपत बढ्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइईए) ले औंल्याएको छ।

विश्वभरका सरकारहरूले जलवायु परिवर्तनका कारण हुने नोक्सानीका डरले पेट्रोलियम पदार्थको खपत बिस्तारै घटाउँदै लैजाने भन्ने विश्वास गरिएको थियो। त्यसो भएमा सन् २०३० पछि तेलको खपत घट्न थाल्ने र २०३५ मा विश्वभरि बेचिने सबै सवारी साधनमध्ये आधा विद्युतीय हुनेछन् भनेर एजेन्सीले पहिले प्रक्षेपण गरेको थियो।

Advertisement

पछिल्लो समयमा जलवायु परिवर्तनलाई इतिहासकै सबभन्दा ठूलो ठगी भन्ने डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेका छन्।

सन् २०२४ तापक्रम मापन गर्न थालेपछि इतिहासकै सबभन्दा गर्मी वर्ष रह्यो। तर पनि गत जनवरीमा दोस्रो कार्यकाल थालेका ट्रम्पले जलवायु प्रतिकूलका नीति अपनाएका कारण तेलको खपत बढ्ने खतरा बढेको छ। त्यही कारणले एजेन्सीले तेलको खपत सन् २०५० सम्म बढ्ने नयाँ प्रक्षेपण गरेको हो भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

यदि विश्वले अहिलेको खपतको गति जारी राख्यो भने तेल र ग्यासको माग बढ्दै जानेछ र कार्बन डाइअक्साइड उत्सर्जनमा कुनै अर्थपूर्ण गिरावट आउने छैन भनेर एजेन्सीले सचेत गराएको छ।

कार्बन उत्सर्जन घटाउन देशहरूले लिएको अडान छाड्न थालेको र विद्युतीय सवारी साधनको बिक्रीको वृद्धिमा आएको सुस्तताका कारण पनि यस्तो हुन लागेको मानिन्छ। पेरिसमा रहेको यो निकायको अनुसन्धानले विश्वव्यापी ऊर्जा नीतिहरूलाई आकार दिन मद्दत गर्छ।

सन् २०१५ मा पेरिसमा भएको सम्मेलनपछि विश्वका देशहरू औद्योगिक क्रान्तिपछि भएको तापक्रम वृद्धि यो शताब्दीको अन्त्य सम्ममा सकेसम्म १.५ डिग्री सेल्सियसमा सीमित राख्न सहमत भएका थिए। त्यो नसके पनि दुई डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर १.५ डिग्री सेल्सियसको सीमा अबको एक दशक नपुग्दै पार गर्ने देखिन्छ। सन् २१०० सम्ममा विश्वको तापक्रम दुई डिग्री सेल्सियसभन्दा धेरैले बढ्ने खतरा बढेको छ।

यस्तो अवस्थामा एजेन्सीले तेल र ग्यासको खपत आगामी २५ वर्षसम्म बढ्ने प्रक्षेपण गरेको हो।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)