
नेपालअखबार,जनकपुरधाम । आउँदो फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाहीमा मतदानस्थलहरूको निरीक्षण कार्य सुरु गरिएको छ। निर्वाचन पूर्वतयारीस्वरूप सोमबार जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका पदाधिकारीले तीन स्थानीय तहका विभिन्न मतदानस्थल निरीक्षण गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी गठन हुने उक्त जिल्लास्तरीय समितिले पहिलो दिन सदरमुकाम मलंगवा नगरपालिकासँगै ब्रह्मपुरी र चन्द्रनगर गाउँपालिकाभित्रका मतदानस्थलको अनुगमन गरेको हो। मंसिर २ गते जिल्ला प्रशासन कार्यालय मलंगवामा बसेको समितिको बैठकले आवश्यक परे वडास्तरीय समितिबाट मतदानस्थल परिवर्तनसम्बन्धी सिफारिस माग गरेको थियो।
वडास्तरमा वडाध्यक्ष अध्यक्ष रहने गरी वडा सचिव, वडामा क्रियाशील राजनीतिक दललगायत समावेश हुने वडास्तरीय सिफारिस समितिको संरचना निर्धारण गरिएको छ। सर्लाहीमा हाल ३१२ मतदानस्थल र ६०० मतदान केन्द्र रहेका छन्।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख तथा जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहका अनुसार मतदानस्थलको भौतिक अवस्था, पहुँच र शान्ति–सुरक्षासम्बन्धी स्थिति बुझ्न निरीक्षण सुरु गरिएको हो। अनुगमन टोलीमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सञ्जयकुमार मण्डल, सहायक सिडिओ शिवहरि पोखरेल र निर्वाचन अधिकारी साह सहभागी थिए।
निरीक्षणका क्रममा टोलीले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका अगुवा, विद्यालयका शिक्षक र कर्मचारीसँग मतदानस्थलको अवस्था तथा आवश्यक व्यवस्थाबारे जानकारी लिएको छ। जिल्लाका अधिकांश मतदानस्थल विद्यालय, मठ–मन्दिर, वडा कार्यालय र स्वास्थ्य चौकी परिसरमा रहेका छन्।
यस्तै, सर्लाहीमा भर्खरै २२ हजार ५ सय ९५ नयाँ मतदाता थपिएका कारण केही मतदान केन्द्र थपिने निश्चित जस्तै भएको छ। यसअघि जिल्लामा ४ लाख ९० हजार ४ जना मतदाता रहेकोमा अध्यादेश जारीपछि अनलाइन तथा कार्यालयमै आएर नाम दर्ता गराउनेको संख्या बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

