
नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा समावेश कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्काे उम्मेदवार थप्न पाउनेछन् ।
६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारी मनोनयनमाथि निर्वाचन आयोगले रुजु गरिरहेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात् दलहरुले सच्याएर पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ । त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ । फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्काे उम्मेदवार पठाउन पाउनेछ ।
आगामी माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ । आम सर्वसाधारणले त्यो सूचीमा रहेका उम्मेदवार कानुनी रुपमा अयोग्य रहेको भनी दाबीविरोध गरेमा छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उक्त सूची तत्पश्चात परिवर्तन हुनेछैन ।

