Friday, July 10

बङ्गलादेशमा हसिना शासनकालमा २८७ जनाको मृत्यु, मानवअधिकार उल्लङ्घनको आशङ्का

नेपालअखबार,ढाका । बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासनकालमा जबर्जस्ती बेपत्ता पारिएका घटनाहरूमध्ये कम्तीमा २८७ जनाको मृत्यु भएको हुन सक्ने सरकारी अनुसन्धान आयोगले जनाएको छ। सरकारद्वारा गठित ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग’ले आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो।

Advertisement

आयोगले कुल १ हजार ५ सय ६९ वटा अपहरणका घटनाहरूको विस्तृत छानबिन गरेको थियो। अनुसन्धानका क्रममा तीमध्ये २८७ जनाको हत्या भएको बलियो आधार भेटिएको प्रतिवेदनमा उल्लेख छ। मारिएकाहरूको शव ढाकास्थित बुरिगङ्गा नदीलगायतका विभिन्न जलाशयमा फ्याँकिएको वा पहिचान नखुलेका सामूहिक चिहानहरूमा गाडिएको हुन सक्ने आयोगको अनुमान छ।

Advertisement
Advertisement

प्रतिवेदनले सुरक्षा निकायहरूले शेख हसिना र उनका उच्च अधिकारीहरूको प्रत्यक्ष निर्देशनमा राजनीतिक प्रतिशोधका आधारमा यस्ता कार्य गरेको खुलासा गरेको छ। अपहरणमा पर्नेहरूमा धेरैजसो विपक्षी दल जमात–ए–इस्लामी र बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का नेता तथा कार्यकर्ता रहेका छन्।

Advertisement

गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएको जनविद्रोहका कारण सत्ताच्युत भएकी हसिना हाल भारतमा छिन्। उनलाई बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवता विरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय समेत सुनाइसकेको छ। संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार हसिनाको अन्तिम समयमा आन्दोलन दबाउन गरिएको दमनका क्रममा मात्रै करिब १ हजार ४ सय जनाले ज्यान गुमाएका थिए।