Friday, July 10

अण्डाको मूल्य घट्यो

नेपालअखबार,चितवन । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्यमा कटौती गरेको छ। सङ्घले भोलिदेखि लागू हुने गरी अण्डाको मूल्यमा प्रतिक्रेट ९० रुपैयाँ घटाएको हो। नयाँ दररेट अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५६५ बाट घटेर ४७५ रुपैयाँ कायम भएको छ।

Advertisement

यस्तै, मिडियम अण्डाको मूल्य पनि प्रतिक्रेट ५५० बाट घटेर ४६० रुपैयाँमा झरेको सङ्घले जनाएको छ। उपभोक्ताले अब प्रतिगोटा २० रुपैयाँमा अण्डा पाउनेछन्, जबकि यसअघि उपभोक्ता मूल्य २५ रुपैयाँ तोकिएको थियो। बढ्दो जाडोका कारण विद्यालयहरू बन्द हुनु, पर्यटकीय गतिविधि कम हुनु र बजारमा मागभन्दा उत्पादन बढी हुनुले मूल्य घटाउनुपरेको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए।

Advertisement
Advertisement

उनका अनुसार धेरै किसानले अण्डाको राम्रो मूल्य पाउने आशामा पुराना कुखुरा बिक्री नगरी उत्पादन जारी राख्दा बजारमा अण्डाको थुप्रो लागेको छ। यद्यपि, अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने हुनाले हालको घटेको मूल्यले किसानलाई ठूलो घाटा हुने देखिएको छ। लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ ६ पैसा पर्ने अवस्थामा ४७५ रुपैयाँमा बिक्री गर्दा किसानहरू मारमा परेका छन्। जाडो कम भई जनजीवन सहज भएपछि मात्र माग र मूल्य पुनः बढ्न सक्ने अनुमान गरिएको छ।

Advertisement