Friday, April 24

भेनेजुएलाको तेल सम्पत्ति सुरक्षाका लागि निजी कम्पनी परिचालन गर्दै अमेरिका

नेपालअखबार,वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाको तेल र ऊर्जा क्षेत्रको सुरक्षा जिम्मा निजी सुरक्षा कम्पनीहरूलाई दिने तयारी गरिरहेको छ। यसै महिनाको सुरुमा भेनेजुएलामाथि आक्रमण गरेपछि ट्रम्पले भेनेजुएला र त्यहाँको तेल दुवै अब अमेरिकाले सञ्चालन गर्ने घोषणा गरेका थिए। भेनेजुएलामा अमेरिकी सेना तैनाथ हुने अड्कलबाजी चलिरहेका बेला ट्रम्पले सेनाको साटो निजी क्षेत्रलाई सुरक्षाको ठेक्का दिने विकल्पमा छलफल अघि बढाएका हुन्।

ट्रम्पले भेनेजुएलामा अमेरिकी सेनाको सम्भावित उपस्थितिलाई पूर्ण रूपमा अस्वीकार नगरे पनि लामो समयसम्म सेना राखिरहनुपर्ने झन्झटबाट बच्न यस्तो रणनीति अपनाउन खोजेको बुझिएको छ। उनले अमेरिकाका ठूला तेल कम्पनीहरूलाई भेनेजुएलामा निर्धक्क लगानी गर्न आग्रह गर्दै आएका छन्। ती कम्पनीहरूलाई त्यहाँ वर्षौँसम्म सुरक्षित तवरले व्यवसाय विस्तार गर्न सकिन्छ भन्ने विश्वास दिलाउनु अहिलेको मुख्य चुनौती बनेको छ।

Advertisement

निकोलस मदुरोको सरकार ढालिसकेको अवस्थामा भेनेजुएलाको तेल पुनः उत्पादन गरी विश्व बजारमा बिक्री गर्नु ट्रम्पको मुख्य ध्येय रहेको छ। तर त्यहाँका बहुमूल्य तेल खानी र ऊर्जा पूर्वाधारलाई प्रतिरोधी समूहहरूबाट जोगाउन स्पष्ट योजना आवश्यक छ। स्रोतका अनुसार यी सम्पत्तिको सुरक्षाका लागि कुन–कुन निजी कम्पनी परिचालन गर्ने भन्नेबारे अहिले प्रारम्भिक चरणको छलफल भइरहेको छ।

विगतमा इराक युद्धको समयमा पनि अमेरिकाले निजी सुरक्षा, लजिस्टिक र पुनःनिर्माणका लागि १ खर्ब ३८ अर्ब डलर खर्च गरेको थियो। भेनेजुएलाको तेल सम्पत्ति हत्याउन पनि अमेरिकाले ठूलो रकम खर्चिने र कयौँ निजी सुरक्षा कम्पनीहरूले त्यहाँको ठेक्कामा रुचि देखाउने अनुमान गरिएको छ। यद्यपि यस विषयमा सोधिएको प्रश्नमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गर्न मानेको छैन।