Friday, February 20

पत्रकारिताको कलमसँगै जनताको आवाजलाई राजनीतिमार्फत बोक्न तम्सिएका इकवाल

नेपालअखबार,सुनसरी । पत्रकारिता पेशामा तीन दशक विताईसकेका सुनसरीका चर्चित पत्रकार इकवाल अहमदले सुनसरी क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन । उनले उम्मेदवारीसँगै जनतासँगको भेटघाट र आफ्नो पत्रकारिताको यात्रालाई पनि अगाडि बढाईरहेका छन ।
सक्रिय पत्रकारितमा रहेका अहमदको उम्मेदवारीसँगै उनको विषयमा चर्चा परिचर्चा गर्न थालेका छन । उनको उम्मेदवारीलाई लिएर पक्ष र विपक्षी दुबै रुपमा बहस सुरु भएको छ । आखिर जिल्लाकै चर्चित पत्रकार जो सधै जनताको पक्षमा कलम चलाउने किन राजनीतिमा होमिनु प¥यो ?
यसको जवाफमा इकवाल भन्छन, ‘३० वर्षदेखि निरन्तर सुनसरीका जनताको आवाज बने, उनीहरुको पक्षमा कमल चलाएर राज्यका निकायहरुलाई घच्घचाए र बेथिति, भ्रष्चाटार विरुद्ध कलम चलाए तर राजनीतिक शक्तीका कारण सबै प्रयासहरु सबै सफल हुन सकेनन । त्यसैले पत्रकारितासँगै राजनीतिक शक्तिले मात्रै समाज र मुलुक परिवर्तन गर्न सकिन्छ भन्ने निष्कर्स निकालेर निर्वाचनमा होमिनु प¥यो ।’
उनी राजनीतिमा होमिन नागरिकप्रतिको आफ्नो तीन दशकदेखिको कर्तब्य बोध र प्रतिबद्धताले प्रेरित गरेको भन्दै राजनीतिक दुषित हुँदा पत्रकारिताले पनि राम्रो काम गर्न नसकेकोले राजनीतिमा होमिएको बताए ।
उनले देशमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता, जनताको बढ्दो निराशा र सुशासनप्रतिको जन अपेक्षा पुरा गर्न समेत राजनीतिक अपरिहार्य बन्दै गएको भन्दै अब आम सचेत नागरिक र युवाहरु राजनीतिमा कसैको झोले नबनी आउन आवश्यक रहेको तर्क गरे ।
अहमदले परम्परागत दलगत राजनीति जनताको वास्तविक समस्या समाधान गर्न असफल भएको आरोप लगाउँदै स्वतन्त्र रूपमा जनताको बीचमा जानु नै उपयुक्त ठानेको बताए ।
स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दै अन्सारीले भने, “देशको अवस्था र परिस्थिति हेर्दा जनताको आवाज संसदसम्म पुग्न सकेको छैन । दलका आन्तरिक स्वार्थ, गुटबन्दी र पदलोलुपताले जनताको मुद्दा ओझेलमा परेको छ । यही कारणले म स्वतन्त्र उम्मेदवारी लिएर जनताको प्रतिनिधित्व गर्न अगाडि आएको हुँ ।”
उनका अनुसार सुनसरी क्षेत्र नम्बर २ मा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र आधारभूत पूर्वाधारको विकास अझै पनि सन्तोषजनक छैन । युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य छन् भने किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।
जनताका समस्याहरु राजनीतिक स्वार्थमा परेर ओझेलमा परेका छन । यी समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्न स्वतन्त्र उम्मेदवारको हैसियतले निष्पक्ष र निर्भीक रूपमा आवाज उठाउने उनको भनाइ छ ।
अहमदले आफू कुनै दलको दबाब वा निर्देशनमा नचल्ने स्पष्ट पार्दै जनताप्रति मात्र उत्तरदायी रहने प्रतिबद्धता व्यक्त गरेका छन् । “मेरो राजनीति सेवा र इमानदारीमा आधारित हुनेछ । चुनाव जितेपछि होइन, चुनावअघि नै जनताको बीचमा बसेर काम गर्ने मेरो उद्देश्य हो,” उनले भने ।
उनले भ्रष्टाचार नियन्त्रण, पारदर्शी प्रशासन, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग र समावेशी विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । विशेष गरी पिछडिएका वर्ग, अल्पसंख्यक समुदाय, महिला र युवाको हकहितका लागि निरन्तर संघर्ष गर्ने उनले प्रतिबद्धता जनाए ।

Advertisement