
नेपालअखबार,काठमाडौं । देशभरि चुनावी सरगर्मी बढ्दै जाँदा बजारमा अन्डाको मागमा उच्च वृद्धि देखिएको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले भाउ बढाएको छ ।
संघले आजदेखि लागु हुने गरी एक साता अवधिमा अन्डाको भाउ प्रतिक्रेट ३० रुपैयाँ बढाएको हो ।
नयाँ दर अनुसार अब एक्सएल अन्डाको भाउ प्रतिक्रेट ५ सय १० रुपैयाँ तोकिएको छ । ४ माघमा एक्सएल अन्डाको भाउ ४ सय ८० रुपैयाँ थियो ।
ठूलो अन्डा एक क्रेटको फार्म मूल्य ४ सय ९५ रुपैयाँ तोकिएको छ । यसअघि उक्त अन्डाको भाउ ४ सय ६५ रुपैयाँ थियो । यस्तै मध्यम आकारको अन्डाको भाउ पनि ४ सय ४५ बाट बढेर ४ सय ७५ रुपैयाँ पुगेको छ ।
संघ अध्यक्ष विनोद पोखरेलका अनुसार निर्वाचन चहलपहल, सीमा क्षेत्रमा गरिएको निगरानी र विद्यालयहरू पुन: सञ्चालनमा आउनुले अन्डा खपत बढाएको हो ।
यसअघि गत मंसिरमा अन्डाको भाउ अहिलेसम्मकै महँगो प्रतिक्रेट ५ सय ६५ रुपैयाँसम्म पुगेको थियो ।

