
नेपालअखबार, काठमाडौं । क्यानडाको एक विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु भएको छ।
ब्रिटिस कोलम्बिया राज्यको टम्बलर रिजस्थित एउटा माध्यमिक विद्यालयभित्र अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु भएको हो।
गोली चलेको विद्यालय रहेको टम्बलर रिज उत्तरी ब्रिटिस कोलम्बियाको दुर्गम नगरपालिका हो। यो रकी पर्वत शृंखलाको फेदीमा पर्ने भएकाले अहिले हिउँ परिरहेको छ।
स्थानीय समयअनुसार घटना मंगलबार अपराह्नतिरको हो।
खैरो कपाल भएकी एक महिला खैरै पहिरनमा आएकी र अन्धाधुन्ध गोली चलाएकी थिइन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ६ जनाको शव विद्यालयभित्रै भेटिएको थियो। एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
विद्यालय नजिकैको एक भवनमा पनि दुई जना मृत भेटिएका छन्। घरमा मृत भेटिएकाहरू पनि विद्यालयमा भएको गोली काण्डको शिकार बनेको त्यहाँको प्रहरीले जनाएको छ।
गोलीकाण्डमा कम्तिमा २५ जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको रोयटर्सले जनाएको छ।
गोली चलाउने महिला पनि घटनास्थलमा मृत भेटिएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीले बताएको हुलियाअनुसारकै महिला मृत भेटिएको र उनी नै आक्रमणकारी हुन् भनेर प्रहरीले पुष्टि गरेको छ।
प्रहरीले ती महिलाले अन्धाधुन्ध गोली चलाएपछि आफैलाई गोली हानेको भनेर बताएको रोयटर्सले लेखेको छ।
आक्रमणकारी महिलाको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ। यद्यपि उनको पहिचान खुलाइएको छैन।
गोलीकाण्डको उद्धेश्य पनि खुलिसकेको छैन। प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको रोयटर्सले जनाएको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
क्यानडामा विगतमा पनि ठूला गोलीकाण्डका घटना भएका छन्।
सन् २०२० अप्रिलमा नोभा स्कोटिया प्रान्तमा प्रहरीको पोसाक लगाएका एक ५१ वर्षीय व्यक्तिले १३ घण्टासम्म गोली चलाउँदै २२ जनाको हत्या गरेका थिए।
त्यस्तै, सन् १९८९ डिसेम्बरमा मोन्ट्रियलस्थित इकोल पोलिटेक्निकमा भएको विद्यालय गोलीकाण्डमा १४ महिला विद्यार्थीको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए।

