Thursday, July 16

युद्धविराम उल्लंघनका बिच गाजामा इजरायली आक्रमण, ११ जनाको मृत्यु

नेपालअखबार,गाजा । गाजामा आइतबार बिहान भएको इजरायली हवाई आक्रमणमा ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ। प्यालेस्टिनी रेड क्रेसेन्टका अनुसार उत्तरी गाजाको एउटा शिविरमा भएको आक्रमणमा ६ जना र दक्षिणी क्षेत्रमा भएको अर्को आक्रमणमा ५ जनाले ज्यान गुमाएका छन्।

Advertisement

इजरायली सेनाले हमासद्वारा युद्धविराम उल्लंघन भएपछि त्यसको जवाफमा ‘आतंककारी लक्ष्य’ हरूमाथि आक्रमण गरिएको दाबी गरेको छ। गत अक्टोबर १० देखि युद्धविराम सम्झौता लागू भए पनि इजरायल र हमास दुवैले एकअर्कामाथि निरन्तर सम्झौता उल्लंघनको आरोप लगाउँदै आएका छन्।

Advertisement
Advertisement

हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता मात्रै कम्तीमा ६ सय जनाको मृत्यु भइसकेको छ। पछिल्लो समय अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको दोस्रो चरण कार्यान्वयनको तयारी भइरहँदा यो हिंसा भड्किएको हो।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै ‘बोर्ड अफ पिस’ नामक नयाँ निकायको घोषणा गरेका छन्, जसलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले गाजाको सीमा सुरक्षा र हमासको निशस्त्रीकरणको जिम्मेवारी सुम्पिएको छ।

फेब्रुअरी १९ मा वासिङ्टनमा हुने यस बोर्डको पहिलो बैठकले गाजामा नयाँ प्यालेस्टिनी सरकार गठन र युद्धपछिको पुनर्निर्माणको कामको पनि नेतृत्व गर्नेछ। ट्रम्पका अनुसार बोर्डका सदस्य राष्ट्रहरूले गाजा पुनर्निर्माणका लागि ५ अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

हमासले भने स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नबिसाउने अडान राख्दै आएको छ। अर्कोतर्फ, बोर्ड अफ पिसको सदस्य राष्ट्र इन्डोनेसियाले युद्धविरामको दोस्रो चरण सफल बनाउन ८ हजार सैनिक गाजा पठाउने घोषणा गरिसकेको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट सुरु भएको यस युद्धमा अहिलेसम्म गाजामा ७१ हजार ८ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ।