
नेपालअखबार, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन्। बुटवलमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले भोट भनेको शक्ति भएको र यसलाई हस्तान्तरण गर्दा हजारचोटि विचार गर्नुपर्ने बताए ।
लिङदेनले विगतमा मतदाताहरू झुटो आश्वासन, केही लिटर पेट्रोल, केही सय रुपैयाँ, वा माछामासु र मादकपदार्थको प्रलोभनमा परेर मतदान गर्दै आएको टिप्पणी गरे । सत्तामा बस्ने नेताहरूले नयाँ समझदारी नगरे र आफ्ना गल्ती नसच्याए देश दुर्घटनामा जाने लिङदेनको चेतावनी छ ।
अध्यक्ष लिङदेनले राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ समझदारीको आवश्यकता औंल्याए । निषेधको राजनीति अन्त्य गरी देशले जित्ने वातावरण बनाउनुपर्ने उनको तर्क छ । उनले राप्रपालाई संसदमा बलियो शक्तिको रूपमा पुर्याउन मतदातासँग सहयोग मागे । राप्रपासँग देश बनाउने स्पष्ट योजना रहेको दाबी गर्दै लिङदेनले भ्रष्टाचारमुक्त ढंगले काम गरे ५–६ वर्षभित्रै देशको मुहार फेरिने बताए ।
अध्यक्ष लिङदेनले आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार काण्डको छानविनमा आफ्नो भुमिका रहेको स्मरण गराए।
उनले काँग्रेस, एमाले र माओवादीका समर्थकहरूलाई पनि एकचोटि राप्रपाको चुनाव चिन्ह ‘हलो’ मा मतदान गर्न आग्रह गरे । उनले प्रत्यक्षतफ र समानुपातिकतर्फ राप्रपालाई मतदान गरी देश बचाउने अभियानमा सहभागी हुन सबैलाई अपिल गरे ।

