
नेपालअखबार,काठमाडौं । उपत्यकामा पछिल्लो समय आपराधिक गतिविधि बढ्दै गएको सन्दर्भमा चन्द्रागिरी नगरपालिकाबाट एक सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। चन्द्रागिरी–२ बाणभन्ज्याङस्थित जंगल क्षेत्रमा अज्ञात पुरुषको कंकाल फेला परेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ।
सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट प्रहरी निरीक्षक अजय जंग थापाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले कंकाललाई नियन्त्रणमा लिई आवश्यक मुचुल्का प्रक्रिया पूरा गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।
हालसम्म कंकालको पहिचान खुल्न सकेको छैन भने मृत्युको कारण पनि रहस्यमै छ। घटनाले आपराधिक गतिविधि बढ्दो रहेको संकेत दिएको भन्दै स्थानीयवासीले सुरक्षामा थप चासो दिन आग्रह गरेका छन्।
प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ। पोस्टमार्टम तथा अन्य प्राविधिक परीक्षणपछि मात्र घटनाबारे स्पष्ट तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।

