
नेपालअखबार, काठमाडौँ । देशका विभिन्न भागमा परेको वर्षाका कारण आएको बाढी र पहिरोले गर्दा मुख्य राजमार्गहरूमा अवरोध सिर्जना भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही खण्डहरूमा यातायात प्रभावित भएको छ ।
कोशी प्रदेशमा भोजपुर, संखुवासभा र इलाममा सडक अवरुद्ध भएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका ५ बोखिममा वैशाख १२ गतेदेखि बाढीका कारण बाटो प्रभावित भएको छ । हाल त्यहाँ वैकल्पिक बाटो प्रयोग गरी यातायात एकतर्फी सञ्चालन गरिएको छ ।
कोशी राजमार्ग अन्तर्गत मकालु गाउँपालिका–३ नयाँबस्तीमा वैशाख २३ गते राति गएको पहिरोका कारण बाटो अवरुद्ध भएको थियो । आज बिहान ५ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षाका कारण इलामको सलकपुर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि, त्यहाँ वैकल्पिक बाटो उपलब्ध रहेको जानकारी दिइएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला भएर जाने बीपी राजमार्गमा बाढीको जोखिम कायमै छ । यद्यपि यो सडक आजदेखि सञ्चालनमा आएको छ ।
कर्णाली प्रदेशमा सल्यान जिल्लाको सडक खण्डमा सुधार आएको छ । पहिरोका कारण अवरुद्ध भएको सल्ली–चौरजहारी सडक खण्ड (कुमाख–२, खारखोला) आज बिहान ७:४५ बजेदेखि पूर्ण रूपमा सुचारु भएको छ ।


