
नेपालअखबार,काठमाडौँ । इरानसँगको युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास ठप्प भइरहेका बेला संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरेबियामा ड्रोन आक्रमणका घटना सार्वजनिक भएका छन्।
यूएईले आफ्नो आणविक ऊर्जा केन्द्रमा ड्रोन प्रहार हुँदा आगलागी भएको जनाएको छ भने साउदी अरबले तीनवटा ड्रोन प्रतिरक्षा प्रणालीले खसालेको बताएको छ।
आक्रमण कहाँबाट भएको भन्ने चाहिँ खुलिनसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लखेको छ।
यूएईका अधिकारीहरूका अनुसार आबुधाबीको अल धफ्रा क्षेत्रको बराकाह आणविक पावर प्लान्टमा हमला भएको हो।
पावर प्लान्टको जेनेरेटरमा प्रहार हुँदा आगलागी भएको बताइएको छ।
घटनामा मानवीय क्षति नभएको यूएईले जनाएको छ।
तर साउदी अरेबियाको कुन ठाउँमा ड्रोन हमला भएको र कहाँ खसालिएको भन्ने विवरण आधिकारिक रूपमा खुलाएको छैन।
आइतबार आणविक विद्युत् केन्द्रमा भएको आक्रमणको स्रोतबारे अनुसन्धान भइरहेको जनाएका छन्। उसले यस्ता ‘आतंकवादी हमला’ विरूद्ध जबाफ दिने पूर्ण अधिकार पनि आफूहरूसँग रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले केन्द्रको ‘युनिट–३’ मा आपत्कालीन डिजेल जेनेरेटरमार्फत विद्युत् आपूर्ति भइरहेको जनाएको छ।
साथै, कुनै पनि आणविक केन्द्र वरपर अधिकतम सैन्य संयमता अपनाउन आग्रह गरेको छ।
फेब्रुअरी २८ मा अमेरिका र इसराइलले इरानमाथि हमला गरेपछि सुरु भएको युद्धका क्रममा इरानले अमेरिकी सैन्य अड्डा रहेका यूएईसहित खाडी राष्ट्रहरूलाई पटक–पटक निशाना बनाउँदै आएको छ। यस क्रममा नागरिक पूर्वाधार र ऊर्जा केन्द्रहरूमा समेत प्रहार भएको बताइएको छ।
यस महिनाको सुरुवातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल तथा ग्यास ढुवानीको प्रमुख मार्ग मानिने हर्मुज खोल्ने उद्देश्यले नौसैनिक अभियान घोषणा गरेपछि इरानले यूएईमाथिका आक्रमण झन् तीव्र बनाएको थियो।
यद्यपि, ट्रम्पले उक्त अभियान ४८ घण्टामै स्थगित गरेका थिए।
युद्धविराम लागू भएको पाँच साताभन्दा बढी समय बितिसक्दा पनि अमेरिका र इरानबीच सहमति हुन सकेको छैन।
अमेरिकाले इरानलाई आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा अन्त्य गर्न र हर्मुजमा नियन्त्रण हटाउन दबाब दिइरहेको छ। यता, इरानले युद्धबाट भएको क्षतिको क्षतिपूर्ति, आफ्ना बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी अन्त्य तथा लेबनानसहित सबै मोर्चामा युद्ध रोक्न माग गरिरहेको छ।
यसैबीच ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानलाई चेतावनी दिँदै समय सकिँदै गएको र छिटो निर्णय नगरे केही बाँकी नरहने भनेका छन्।
अमेरिकी सञ्चारमाध्यमहरूको रिपोर्टअनुसार ट्रम्पले मंगलबार राष्ट्रिय सुरक्षा टोलीसँग इरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे छलफल गर्ने तयारी गरेका छन्।
यसअघि अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले आवश्यक परे सैन्य कारबाही थप चर्काउने योजना तयार रहेको बताएका थिए।
अमेरिकी र इसराइली अधिकारीहरूले अर्को सातासम्म संयुक्त आक्रमण पुनः सुरु गर्न सक्ने सम्भावनाबारे गहन तयारी भइरहेको भनेर अमेरिकी अखबार न्युयोर्क टाइम्सले रिपोर्ट प्रकाशित गरेको थियो।
इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रवक्ता इब्राहिम रेजाइले फेरि आक्रमण भए युरेनियम संवर्द्धन ९० प्रतिशतसम्म बढाउन सकिने चेतावनी दिएका छन्।
ट्रम्पले भने इरानको संवर्द्धित युरेनियम ध्वस्त भग्नावशेषमा गाडिएको अवस्थामा छोड्नुभन्दा अमेरिका आफैले नियन्त्रणमा लिन रुचाउने बताएका छन्।
इरानी सैन्य प्रवक्ता अबोलफजल शेकार्चीले ट्रम्पका धम्की कार्यान्वयन भए अमेरिका आफैंले सिर्जना गरेको दलदलमा फस्ने चेतावनी दिएका छन्।
हर्मुज जलमार्ग हुँदै हुने ढुवानी अवरुद्ध हुँदा विश्वव्यापी तेल आपूर्तिमा गम्भीर संकट देखिएको छ र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ। इरानले जलमार्गको यातायात व्यवस्थापनका लागि नयाँ संयन्त्र सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।
यसैबीच, लेबनन र इसराइलबीच ४५ दिनका लागि युद्धविराम थपिए पनि छिटफुट भिडन्त भने रोकिएको छैन।

