Monday, May 18

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी सपना तामाङसँगै पक्राउ परेका युवक प्रेमी

नेपालअखबार,काठमाडौं । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी सपना तामाङसँगै पक्राउ परेका युवक प्रेमी रहेको खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कारागारबाट भागेकी सपनालाई असनस्थित बांगेमुढाबाट पक्राउ गरेको हो।

Advertisement

उनलाई प्रहरीले समीर श्रेष्ठको कोठाबाट फेला पारी नियन्त्रणमा लिएको एसएसपी सन्तोष खड्काले जानकारी दिए।

‘उनी समीरको कोठामा फेला परेकी हुन्। समीरले उनलाई लुकाएर राख्न मद्दत गर्‍यो,’ उनले भने।

सपना नुवाकोट बिदुरकी हुन्। २०७७ सालमा रसुवामा ६ वर्षीया बालिकाको सुनको टप लुटेपछि घटना बाहिरिने डरले उनले ती बालकको हत्या गरेकी थिइन्।

उनीविरूद्ध अपहरण र डाँका चोरीको कसुर पनि थियो। यीनै कसुरमा दोषी ठहर भएकी उनी २५ वर्ष कैद सजाय भुक्तान गरिरहेकी थिइन्।

उनलाई सुन्धारा कारागार ल्याइएको पनि धेरै भएको थिएन।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट भागेकी थिइन्।

पछि फेरि पक्राउ परी कैद सजाय भुक्तान गर्दै आएकी थिइन्।

यसैबीच कारागारको महिला बन्दी गृहमा समीरकै आमा सीता थापा पनि कैद सजाय भुक्तान गरिरहेकी छन्।

कारागार स्रोतका अनुसार समीर आफ्नी आमालाई भेट्न बेलाबेला कारागारमा जान्थे। त्यही बेलामा आमामार्फत समीर र सपनाबीच चिनजान भएको थियो।

‘आमा भेट्न जाँदा समीर र सपनाको चिनजान भएको रहेछ। चिनजान भएपछि भित्रै उनीहरूको नम्बर पनि साटासाट भइसकेको देखिन्छ। सपनाले समीर र उनका बुबाको समेत नम्बर लिएको देखिन्छ। यो कुरा सपनाले स्वीकारेकी छिन्,’ स्रोतले भन्यो।

यसरी सपना जेलमै हुँदा उनीहरूबीच प्रेममा परेका थिए।

तर शुक्रबार बिहान साढे १ बजेतिर भने उनले कारागार भित्रपट्टि केही सामान राखेर पर्खाल चढेर भागेकी हुन्।

प्रहरीले अनुसन्धान गर्न सिसिटिभी फुटेज समेत हेरेको छ।

त्यसरी भागेपछि उनले एक ट्याक्सी चालकमार्फत समीरलाई फोन गरेको स्रोतले बतायो।

‘कारागारबाट निस्किएपछि ट्याक्सी चालकको नम्बरबाट सीमरलाई सपनाले फोन गरिन्। तर उठाएनछ। नउठाएपछि उनीसँग भएको बुबाको नम्बरमा फोन गरिन्,’ स्रोतले भन्यो, ‘फोन गरेर समीरसँग सम्पर्क भएर उनैको कोठामा बस्न गएकी हुन्।’

प्रहरीले यस घटनामा समीरलाई पनि पक्राउ गरेको छ।