
नेपालअखबार,काठमाडौं । इरानविरुद्ध सञ्चालित ‘अपरेसन एपिक फ्युरी’ मा अमेरिकाले ठूलो हवाई क्षति बेहोरेको छ । अमेरिकी कङ्ग्रेसको रिपोर्टअनुसार यस युद्धमा अमेरिकी सेनाका ४२ वटा एयरक्राफ्ट र ड्रोन ध्वस्त वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।
अमेरिकी रक्षा मन्त्रालयले यसअघि नै युद्धमा कुल साढे ४ खर्ब खर्च भइसकेको जनाएको छ ।
कस्तो-कस्तो विमानमा भयो क्षति ?
नष्ट भएका विमानहरूमध्ये ६ वटा फाइटर र अट्याक जेट रहेका छन् । जसमा एक एफ-३५, चार एफ-१५ई स्ट्राइक इगल र एक ए-१० थन्डरबोल्ट-२ समावेश छन् । अप्रिलको सुरुवातमै इरानले अमेरिकाको एउटा एफ-१५ई जेट खसालेको थियो ।
सबैभन्दा बढी क्षति ड्रोनतर्फ भएको छ । कुल २५ वटा ड्रोन ध्वस्त भएका छन्, जसमा २४ वटा एमक्यु-९ रिपर र एउटा एमक्यु-४सी ट्राइटन छन् । यसबाहेक अन्य ११ वटा विमान पनि पूर्ण रूपमा नष्ट वा क्षतिग्रस्त भएका छन् ।
इरानमा सत्तापलटको योजना
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिका र इजरायलले इरानको परमाणु र क्षेप्यास्त्र क्षमता कमजोर बनाउन मात्र युद्ध गरेका थिएनन्, उनीहरूको योजना सत्तापलट गर्ने पनि थियो ।
नयाँ नेताका रूपमा इरानका पूर्वराष्ट्रपति महमुद अहमदिनेजादलाई अघि सार्ने योजना थियो । युद्धको पहिलो दिन इजरायलले तेहरानस्थित अहमदिनेजादको घरनजिकै आक्रमण गरेको थियो । यसको उद्देश्य उनलाई नजरबन्दबाट मुक्त गर्नु थियो, तर उनी बचेका थिए ।
त्यसपछि इजरायल र अमेरिका सत्तापलटको योजनाबाट पछि हटेका हुन् । इरानी सेना र सर्वोच्च नेतासँगको बिग्रँदो सम्बन्धका कारण अहमदिनेजाद कैयौँ वर्षदेखि नजरबन्दमा छन् ।
रिपोर्टका अनुसार, सत्तापलटका लागि तय गरिएको ३ चरणको योजना तय गरिएको थियो । पहिलो चरणमा लगातार हवाई आक्रमण गर्ने, इरानका सर्वोच्च नेताहरूलाई निशाना बनाउने र कुर्द लडाकुहरूलाई सक्रिय पार्ने अमेरिकी रणनीति थियो ।
दोस्रो चरणमा इरानी सत्ताले नियन्त्रण गुमाउँदै छ भन्ने सन्देश दिन इजरायलले अराजकता र युद्धको माहोल सिर्जना गर्ने योजना थियो । त्यस्तै, तेस्रो चरणमा पूर्वाधारमा क्षति पुर्याउने, ग्यास र बिजुली आपूर्ति रोकेर राजनीतिक दबाब बढाउने र त्यसपछि अहमदिनेजादलाई सत्तामा ल्याउने अमेरिकी योजना थियो ।
यसैबीच, अमेरिकी सिनेटले राष्ट्रपति ट्रम्पको सैन्य शक्ति सीमित गर्ने प्रस्ताव ५०-४७ को मतले पारित गरेको छ । ४ जना रिपब्लिकन सांसदले पनि ट्रम्पको विपक्षमा मत दिएका छन् । यदि यो कानुन बन्यो भने इरानविरुद्ध युद्ध जारी राख्न ट्रम्पले कङ्ग्रेसको अनुमति लिनुपर्नेछ ।
उता, अमेरिकी कोस्टगार्ड एकेडेमीमा बोल्दै राष्ट्रपति ट्रम्पले इरानको नौसेना र वायुसेना लगभग समाप्त भइसकेको दाबी गरेका छन् । अब अमेरिकाले कारबाही पूरा गर्ने वा इरान सम्झौतामा आउने भन्ने मात्र बाँकी रहेको उनले बताए ।

