Friday, May 22

उच्च प्रशोधित युरेनियम इरान बाहिर नपठाउन सर्वोच्च नेता खामेनीको निर्देशन

नेपालअखबार,काठमाडौँ ।  इरानका सर्वोच्च नेता मोज्तबा अली खामेनीले उच्च प्रशोधित युरेनियम देशबाहिर नपठाउन निर्देशन दिएको खुलेको छ।

उच्च प्रशोधित युरेनियम इरान-अमेरिका वार्ताको सबैभन्दा बढी विवाद र पेचिलो विषय बन्दै आएको छ।

Advertisement

दुई वरिष्ठ इरानी स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले युरेनियम तेहरानबाट बाहिर नपठाउन भनेर खामेनीले निर्देशन दिएको जनाएको छ।

इरानसँग झन्डै ४०० किलो उच्च प्रशोधित युरेनियम छ।

अमेरिका र इसराइलले त्यो युरेनियम इरानले राख्न नपाउने सर्त राख्दै आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले त उच्च प्रशोधित युरेनियम इरानले वाशिङ्टनलाई हस्तान्तरण गर्नुपर्ने पनि बताएका थिए।

तर खामेनीले देशभित्रै राख्न निर्देशन दिएपछि लामो समयदेखि अवरूद्ध इरान-अमेरिका वार्ता थप जटिल बन्ने संकेत देखिएको भनेर रोयटर्सले लेखेको छ।

यसले ट्रम्पको मुख्य मागलाई पनि चुनौती दिएको बताइएको छ।

ट्रम्पले बिहीबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै अमेरिका इरानलाई उच्च समृद्ध युरेनियम राख्न नदिने बताएका थिए।

‘हामीलाई त्यसको आवश्यकता छैन। हामी त्यसलाई प्राप्त गरी सम्भवतः नष्ट गर्नेछौं। तर कुनै हालतमा इरानलाई राख्न दिने छैनौं,’ उनले भनेका थिए।

इसराइली अधिकारीहरूले पनि ट्रम्पले इरानको उच्च प्रशोधित युरेनियम बाहिर पठाउँछु भनेर आश्वासन दिएको बताएका छन्।

इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युरेनियम प्रशोधन गर्न नपाउने, इरानले मध्यपूर्वका क्षेत्रीय समूहलाई सहयोग अन्त्य गर्नुपर्ने र ब्यालिस्टिक मिसाइल क्षमता समाप्त नभएसम्म युद्ध समाप्त भएको नठान्ने चेतावनी दिँदै आएका छन्।

रोयटर्सका अनुसार इरानभित्र भने शीर्ष तहमा युरेनियम देशबाहिर पठाउँदा भविष्यमा अमेरिका वा इसराइलबाट हुनसक्ने आक्रमणप्रति देश थप कमजोर बन्न सक्ने विश्लेषण छ। सर्वोच्च नेताको निर्देशनअनुसार अहिले इरानी सत्तावृत्तमा युरेनियम भण्डार देशभित्रै राख्नुपर्नेमा सहमति रहेको स्रोतहरूको दाबी छ।

गत फेब्रुअरी २८ मा अमेरिका–इसराइलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्व अहिले अस्थायी युद्धविराममा पुगे पनि शान्ति प्रयासमा उल्लेखनीय प्रगति हुन सकेको छैन।

पाकिस्तानको मध्यस्थतामा वार्ता भइरहे पनि अमेरिकी नाकाबन्दी, स्ट्रेट अफ हर्मुजमा इरानको प्रभाव तथा आणविक कार्यक्रमसम्बन्धी विवादले सहमति कठिन बनेको बताइएको छ।

इरानका शीर्ष वार्ताकार मोहम्मद बाघेर गालिबाफले अमेरिका नयाँ आक्रमणको तयारीमा रहेको संकेत प्राप्त भएको बताएका थिए। ट्रम्पले सम्झौता नभए थप सैन्य कारबाही गर्ने भनेर पटक पटक भन्दै आइरहेका छन्।

यद्यपि, स्रोतहरूका अनुसार दुवै पक्षबीच केही मतभेद घट्दै गए पनि युरेनियम भण्डारको भविष्य र इरानको युरेनियम समृद्ध गर्ने अधिकारलाई मान्यता दिने विषय अझै मुख्य विवादका रूपमा रहेको छ।

इरानले भने उच्च समृद्ध युरेनियमको केही हिस्सा चिकित्सा प्रयोजन तथा तेहरानस्थित अनुसन्धान रिएक्टरका लागि आवश्यक रहेको दाबी गर्दै आएको छ।

इरानी विदेशमन्त्री अब्बास अराग्चीले गत महिना रूस भ्रमण गरेका थिए। इरानले सुरूवातमा आफूसँग भएको समृद्ध युरेनियम रूसलाई हस्तान्तरण गर्न सकिने पनि बताएको थियो।