Thursday, June 11

खुस्बु ओलीको जिकिर– आयातित सवारीमा २० प्रतिशतसम्म राजश्व हिनामिना, राज्यलाई ५ अर्ब बढी घाटा

नेपालअखबार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीहरूमा २० प्रतिशत राजश्व हिनामिना भएको जिकिर गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी छन् । बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, सचिव घनश्याम उपाध्यायसहित मन्त्रालय र भन्सार विभागका कर्मचारीहरू समेत छन् ।

Advertisement

आर्थिक विधेयकमा करको दर हेरफेर भएको र करका देर हेरफेरको सूचना चुहावट गरेको विषयमा जवाफ माग गर्दै ओलीले आयातित सवारीहरूमा २० प्रतिशतको राजश्व हिनामिना भएको बताएकी हुन् ।

उनले भनेकी छन्, ‘७/८ सिटको गाडीलाई ११ सिटको कायम गरी त्यसमा फोल्डिङको अमान्य सिटहरूलाई पनि मान्य गरी ७/८ सिटको लागि लाग्ने ३० प्रतिशतको भन्सारको सट्टा ११ सिटका लागि लाग्ने १० प्रतिशत भन्सार कायम गरी २० प्रतिशत भन्सार हिनामिना गरेको पाइएको छ ।’

यस्तै ११ देखि १४ सिटको लागि १० प्रतिशत भन्सार रहेकोमा यस्ता सवारीमा पनि अमान्य सिटहरूलाई मान्य गरी १५ देखि देखि १८ सिट कायम गरी १ प्रतिशत भन्सार लिएर ९ प्रतिशतको राजश्व हिनामिना भएको उनले बताइन् ।

‘यस्ता करिब ५ हजार भन्दा बढी गाडी आयात भइ दर्ता भइसकेको र अन्य आयात भइ दर्ता हुने क्रम जारी नै छ,’ उनले भनिन् ।

यातायात व्यवसायी एनले सवारीको स्तर र त्यसको मापदण्ड विपरीत बढी सिट राख्ने र राजश्व छुट दिने कार्य भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने उनको आग्रह छ ।

हिनामिना भएको राज्श्वको विषयमा सम्बन्धित निकाय मौन रहेको र मन्त्री र सचिवलाई यसबारे सोध्दा जानकारी प्राप्त  गर्न नसकिएको पनि उनले बताइन् ।

२०८० साल यता यस्तो कार्यबाट ५ अर्ब भन्दा बढी राजश्व हिनामिना भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी छन् ।