Monday, June 15

तीन महिना यताकै धेरै बिन्दुले घट्यो कच्चा तेलको भाउ

नेपालअखबार,काठमाडौँ । अमेरिका र इरानबीच सम्झौता हुने भएपछि कच्चा तेलको मूल्य तीन महिना यताकै कम बिन्दुले घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सोमबारको कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ४.३३ डलर अर्थात् करिब ५ प्रतिशत घटेर ८३ डलरमा पुगेको छ।

Advertisement

अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) पनि ४.५४ डलर अर्थात् ५.३५ प्रतिशत घटेर प्रतिव्यारेल ८०.३४ डलरमा कारोबार भइरहेको रोयटर्सले जनाएको छ।

दुवै सूचक मार्च १० यताकै न्यून स्तरमा झरेका हुन्। शुक्रबार पनि तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका उपविदेशमन्त्री काजिम गरिबाबादीले युद्ध अन्त्य र हर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा प्रारम्भिक सहमति भएको बताएका थिए।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका अनुसार दुवै देशबीचको समझदारीपत्र (एमओयू) मा आगामी शुक्रबार स्वीट्जरल्याण्डमा हस्ताक्षर हुने तय भएको छ।

ट्रम्पले आइतबार हर्मुज जलमार्ग शुल्करहित रूपमा खुल्ने र इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाइने बताएका थिए।

उता इरानको अर्धसरकारी मेहर समाचार संस्थाले मस्यौदा सम्झौताअनुसार ३० दिनभित्र इरानी व्यवस्थापनमा हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याइने उल्लेख गरेको छ।

ऊर्जा बजार विश्लेषकहरूका अनुसार सम्झौताले तत्काल राहतको संकेत दिए पनि तेल आपूर्ति युद्धअघिको अवस्थामा फर्किन समय लाग्नेछ।

पीभीएम आयल एसोसिएट्सका विश्लेषक टामस भार्गाले हर्मुज जलडमरूमध्यमार्फत दैनिक करिब २ करोड ब्यारेल तेल पुनः सामान्य रूपमा ढुवानी हुन हप्ता वा महिनौँ लाग्न सक्ने बताएका छन्।

विश्वको करिब पाँचौं हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति हर्मुज जलमार्गमार्फत हुने गर्छ। तीन महिनाभन्दा बढी समयदेखि यो मार्ग प्रभावकारी रूपमा बन्द हुँदा विश्व बजारमा लाखौं ब्यारेल तेल र ग्यास आपूर्ति प्रभावित भएको थियो।