
नेपालअखबार, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको विवरण पेस गर्न निर्देशन दिएको छ ।
१ चैत २०८२ देखि ३१ जेठ २०८३ सम्म कति श्रमिक पठाएको, कुन विमानस्थल प्रयोग गरेर उडाएको लगायत विवरण ३ दिनभित्र पेस गर्न निर्देशन दिएको हो ।
व्यवसायीले नेपालको विमानस्थल प्रयोग नगरी भारत हुँदै श्रमिक पठाउने गरेको गुनासो आएपछि विवरण माग गरेको जनाएको छ ।
इजाजतपत्र प्राप्त संस्थाले श्रम स्वीकृति लिएका श्रमिकलाई स्वदेशी विमानस्थलको सट्टा अन्य देशका विमानस्थल प्रयोग गरी गन्तव्य मुलुक पठाउने गरेको गुनासो आएपछि विवरण माग गरिएको विभागले जनाएको छ ।
यो विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा गुनासो पुगेको थियो ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ र वैदेशिक रोजगार नियमावली २०६४ को नियम १८ मा वैदेशिक रोजगारीमा श्रमिक पठाउँदा अनिवार्य स्वदेशी विमानस्थल नै प्रयोग गर्नुपर्ने व्यवस्था छ । यदि विशेष परिस्थितिका कारण स्वदेशी विमानस्थल प्रयोग गर्न नसकिने अवस्था आए विभागको पूर्व अनुमति लिएरमात्र विदेशी विमानस्थल प्रयोग गर्न पाइने प्रावधान छ ।
व्यवसायीले पेस गरेको विवरणका आधारमा स्वदेशी वा विदेशी कुन विमानस्थल प्रयोग भएको हो भन्ने कुराको पुष्टि गरिने विभागले जनाएको छ ।
विभागले तोकेको ढाँचामा प्राप्त विवरण विश्लेषणपछि यदि कुनै संस्थाले अनुमतिविना विदेशी विमानस्थल प्रयोग गरेको पाइए उनीहरूमाथि स्पष्टीकरण सोध्ने र आवश्यक कानुनी कारबाही अगाडि बढाउने विभागले जनाएको छ ।
‘बाहिर आएका गुनासा कति सत्य हुन् भन्ने कुरा व्यवसायीले बुझाउने विवरणबाट स्पष्ट हुनेछ,’ विभागका निर्देशक खिलराज राईले भने ।
यदि व्यवसायीले नियमसंगत स्वदेशकै विमानस्थल प्रयोग गरेको पाइए कुनै थप प्रक्रिया आवश्यक नपर्ने उनको भनाइ छ ।


