Friday, July 3

रेसुङ्गा-काठमाडौं उडान तीन सातादेखि प्रभावित

नेपालअखबार,गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने हवाई उडान तीन सातादेखि प्रभावित भएको छ ।

Advertisement

नेपाल एयरलाइन्सको रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेयता बिहानको समयमा बाक्लो बादल र खराब मौसमका कारण नियमित उडान सञ्चालन हुन सकेको छैन ।

Advertisement
Advertisement

यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै नेपाल एयरलाइन्सले रेसुङ्गा–काठमाडौं रुटमा साताको तीन दिन– आइतबार, मंगलबार र बिहीबार उडान गर्दै आएको छ । तर वर्षायाम सुरु भएसँगै मौसम प्रतिकूल बन्न थालेपछि उडान प्रभावित भइरहेको थापाले बताए ।

Advertisement

हाल गुल्मीबाट काठमाडौंका लागि प्रतियात्री १० हजार ७०२ रुपैयाँ र काठमाडौंबाट गुल्मीका लागि १० हजार ९०२ रुपैयाँ हवाई भाडा निर्धारण गरिएको छ । उडान तालिकाअनुसार विमान काठमाडौंबाट बिहान ६:३० बजे उड्ने र रेसुङ्गाबाट बिहान ७:४५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने व्यवस्था छ ।रेसुङ्गा विमानस्थल सञ्चालनमा आएपछि गुल्मीको हवाई पहुँच विस्तार भएको छ । यसले जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यमा पुग्ने आन्तरिक तथा विदेशी पर्यटकको आवागमन बढाउन सहयोग पुगेको छ ।