Wednesday, July 8

सिभिल अस्पतालका ८ जना कर्मचारीविरुद्ध झन्डै ३ करोड भ्रष्टाचार मुद्दा

नेपालअखबार, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल) को फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

Advertisement

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो ।

Advertisement
Advertisement

आयोगका अनुसार ढुंगानासहित फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लबेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दिपक सापकोटा, फार्मेसी युनिट स्टोर किपरहरू विनोद पोखरेल, शर्मीला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दिप तिवारीविरुद्ध मुद्दा दायर गरेको हो ।

Advertisement

आयोगले उनीहरूविरुद्ध जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

औषधि आपूर्तिकर्तासँग साँठगाँठ गरी अस्पतालमा औषधिको आपूर्ति नभए पनि बिल बिजक सफ्टवेयरमा इन्ट्री गरी ठूलो रकम भ्रष्टाचार गरेको, अस्पतालको स्टोर शाखा र भर्‍याङमा करोडौँको औषधि म्याद गुज्रेर फालिएको अवस्थामा रहेको र कम्प्युटरमा स्टक देखाएको औषधि यथार्थमा मौज्दात नरहेको भन्ने उजुरीको आधारमा उनीहरूमाथि आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा उनीहरूले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी गराई सार्वजनिक सम्पत्तिको हिनामिना, हानीनोक्सानी पुर्‍याउने काम गरेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।