
नेपालअखबार, काठमाडौं । जर्मनीमा यस वर्ष अहिलेसम्म गर्मीका कारण अनुमानित ५,१२० जनाको मृत्यु भइसकेको छ।
त्यसमध्ये अधिकांशको मृत्यु जुन महिनाको अन्त्यतिर भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
चिसो हावापानी भएको जर्मनीमा औसत तापक्रम २० डिग्री सेल्सियसभन्दा धेरै माथि पुगेको भनेर सार्वजनिक स्वास्थ्यका लागि रोबर्ट कोच इन्स्टिच्युटले बिहीबार बताएको छ।
इन्स्टिच्युटले आफ्नो साप्ताहिक प्रतिवेदनमा जनाए अनुसार मृत्यु हुनेमध्ये करिब ४ हजार २७० जना ७५ वर्ष र सोभन्दा माथिका थिए।
पुरुषको तुलनामा महिलाको बढी मृत्यु भएको छ। त्यसको मुख्य कारण वृद्ध जनसंख्यामा महिलाहरूको हिस्सा बढी हुनु हो।
जर्मनीमा मात्रै नभएर युरोपभरि नै गर्मीका कारण भयावह स्थिति छ।
युरोपेली संघ (इयु) को कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसले बिहीबार एक बुलेटिन निकालेर पश्चिमी युरोपमा यस वर्षको जुन महिना इतिहासकै सबैभन्दा तातो रहेको जनाएको छ।
त्यहाँ औसत तापक्रम २०.७४ डिग्री सेल्सियस रेकर्ड गरियो।
जुन २० देखि २८ सम्म फ्रान्स, बेल्जियम, स्पेन र नेदरल्यान्ड्समा चलेको तातो हावा (लु) का कारण ४ हजार ७०० भन्दा बढी मृत्यु भएको ती देशहरूले जानकारी दिएका छन्।
अरू वर्षमा हुने मृतकको संख्याभन्दा यस वर्ष कति बढी व्यक्तिको मृत्यु भयो भन्ने हिसाब गरेर यो संख्या निकालिन्छ।




