Saturday, July 11

गणेश नेपालीको परिवारलाई काठमाडौं महानगरले मानवीय सहयोग, रोजगारी र नि:शुल्क शिक्षा दिने

नेपालअखबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने घोषणा गरेको छ।

Advertisement

महानगरले शुक्रबार राति प्रेस विज्ञप्ति जारी गर्दै यसबारे कार्यपालिका बैठकबाट विधिसम्मत् निर्णय गर्ने जानकारी दिएको छ।

Advertisement
Advertisement

त्रिपुरेश्वरस्थित राहदानी विभाग जाने भित्री बाटोमा बिहीबार दिउँसो साढे १ बजेतिर पेट्रोल खन्याएर आगो लगाएका मुगुका २५ वर्षीय नेपालीको शुक्रबार उपचार क्रममा भएको मृत्यु भएको थियो। उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महानगरले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

Advertisement

घटनाको निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेकोबारे महानगरले भनेको छ, ‘उक्त समितिको तथ्यगत छानबिनमा काठमाडौं महानगरपालिकाले पूर्ण रूपमा सहयोग गर्नेछ। छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरू चाल्नेछ।’

प्रवक्ता नविन मानन्धरले हस्ताक्षर गरेको विज्ञप्तिमा महानगरले नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्न, यस्ता घटना दोहोरिन नदिन र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान तयार रहेको उल्लेख गरेको छ।